गुल्मीमा वन डढेलो नियन्त्रण सप्ताह सुरुः पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

गुल्मी । वन डढेलो सम्बन्धी सचेतनाका लागी गुल्मीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । जिल्ला वन कार्यलयको आयोजनामा चैत्र १० गते सम्म वन डढेलो सम्बन्धी विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह संचालन हुने भएको छ ।

हिजो भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला वन कार्यलयका प्रमुख विशाल घिमिरेले चैत १ देखि १० गते सम्म विभिन्न प्रकारका सचेतनामूलक कार्यक्रम संचालन गर्ने र सोहि क्रममा बिहिबार मिट द प्रेसको आयोजना गरीएको बताए ।

वन कार्यलयका प्रमुख घिमिरेले वन डढेलो सप्ताह २०७३ अन्तर्गत मिट द प्रेस, विद्यालय र शैक्षिक संघसंस्था लक्षित अभियान, वन डढेलो व्यवस्थापन, जनचेतना तथा अन्तर्क्रिया, प्रयोगात्मक अभ्यास प्रदर्शन, वन डढेलो व्यवस्थापन साम्रागी वितरण, ईलाका वन कार्यलय प्रमुखहरुको समिक्षा बैठक र छलफल, जिल्ला स्थित सुरक्षा निकाय र सरोकारवालाहरुसंग सहयोग आदान प्रदान, अन्तरक्रिया, प्रचारप्रसार साम्रागी छपाई वितरण, होडिङ्गबोड लेखन, जनसचेतनामूलक सामाग्रीको प्रचारप्रसार गरि मनाउन लागेको बताए ।

वन डढेलो व्यवस्थापनका लागि प्रतिरोधात्मक कार्यक्रममा जोड दिदै वन कार्यलयका प्रमुख घिमिरेले भने–‘मानविय क्षति हुनबाट जोगिन जिल्ला वन कार्यलयले संचालन गरेको सचेतना कार्यक्रममा सहभागी भई हाम्रो यो साझा दुश्मनलाई  ध्वस्त पार्नु पर्ने भएको छ । हामीहरुले नियमित रुपमा वन डढेलो नियन्त्रणका लागि सुराकी, स्वयंसेवक परिचालन गर्ने र अन्य  प्रतिरोधात्मक कार्यक्रमहरु यसै बर्षबाट संचालन गर्ने योजना बनाएका छौ ।’

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका गुल्मीका अध्यक्ष नवराज भुसालले वन डढेलो व्यवस्थापनमा मिडियाले आफ्नो भुमिका निर्वाह गर्दै आईरहेको र भोलिका दिनमा पनि गरिरहने बताए । उनले सुसूचित समाज निर्माणमा मिडियाकर्मिहरुले उच्च जोखिम मोलेर सचेतना दिईरहेको बताएका थिए ।

उक्त मिट द प्रेस कार्यक्रमको संयोजन सहायक जिल्ला वन अधिकृत कर्ण बहादुर पाण्डेले गरेका थिए ।