बच्चाको तनावले किशोरीलाई परीक्षामा मुस्किल

जाजरकोट । कार्कीगाउँकी १६ वर्षीया निर्मला खत्री अहिले माध्यमिक शिक्षा परीक्षा दिनु र साथमा रहेको एक वर्षको छोराको पालनपोषण गर्नु मात्र होइन, घर नजिकैको परीक्षा केन्द्रमा परीक्षा दिन नपाएपछि जगतिपुरमा बसेर परीक्षा दिन बाध्य हुनु परेको बताउछिन ।

जगतिपुरमा होटल नभएका कारण कोठा लिएर परीक्षार्थीले आफैँ खाना बनाई खानुपर्ने र डेढ घन्टा लगाएर पानी बोकेर ल्याउनुपर्ने अर्को बाध्यता रहेको निर्मलाको भनाइ छ । बच्चा सँगै भएका कारण पढाइ पनि राम्रो नभएको उनको भनाइ छ ।

“पढ्न लाग्दा छोरा रुन्छ, रुँदारुँदै कसरी पढ्नु” उनले भनिन–। उनी जस्तै अर्की भुरकी सबिना पुन पनि १६ वर्षकी भइन। उनका साथमा पनि ६ महिनाकी छोरी छिन् । छोरीका कारण उनको पढाइ र अन्य काम सवै अलपत्र परेको छ । पढाइ नहुँदा नहुँदै उनी ६ महिनाको छोरी च्यापेर जगतिपुरमा परीक्षा दिन आएकी छन ।

बिहीबारको परीक्षा दिँदादिँदै तीनपटक छोरीलाई दूध ख्वाउँदा उनले सोचे जति लेख्नसमेत नसकेको बताइन । छोरी, परीक्षा र बिरानो ठाउँ, अनि आफै खाना वनाएर खानु परीक्षाको सबैभन्दा पीडाको विषय भएको पुनको भनाइ छ ।

घर नजिकैको विद्यालयमा परीक्षा केन्द्र भएपनि सेन्टर परिवर्तनले गर्दा विद्यार्थी मारमा परेका छन् । उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने र छिट्टै बच्चा पाउँदा घरधन्दा र आमाको जिम्मेवारीले गर्दा यहाँका छात्राको पढाइ बिग्रदो अवस्थामा रहेको छ ।

परीक्षामा सहभागीमध्ये ३० प्रतिशत विवाहित भएको परीक्षा सहभागी केन्द्राध्यक्षले बताएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार जाजरकोटमा ६४ माविका १९ वटा परीक्षा केन्दबाट पाँचहजार ६ सय १५ विद्यार्थीले परीक्षा दिँदैछन् ।

कुनै पनि विद्यालयले आफू अध्ययनरत विद्यालयबाट परीक्षा दिन पाउने छैनन् । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने भन्दै शिक्षा विभागको परिपत्रअनुसार नै यो निर्णय विगत ४ वर्षदेखि लागू गरिँदै आएको जिल्ला शिक्षा अधिकारी सिंहले बताए ।

परीक्षा नियन्त्रकले जिम्मेवारी बिर्संदा

परीक्षामा चिट चोरी रोक्नु र अन्य अमर्यादित कामलाई नियन्त्रण गर्न परीक्षा नियन्त्रकको व्यवस्था गरिएको हुन्छ । विद्यार्थीको सङ्ख्याका आधारमा नियन्त्रकको व्यवस्था गरी खटाएको हुन्छ । जाजरकोटका अधिकांश परीक्षा केन्द्रमा खटिएका नियन्त्रकले आफैँ चिट चोराउने काम गर्दा समस्या भएको विद्यार्थी बताउँछन् । विद्यार्थीलाई उत्तर भनिदिनेदेखि खुलेआम चोरी गर्न दिने गरिएको छ ।

अनुगमनमा खटिएका कर्मचारी, पत्रकार परीक्षा केन्द्रमा आएपछि चिट लुकाऊ भनेर निर्देशन दिने काम कक्षा नियन्त्रकको रहेको पाइएको छ । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह जगतिपुर परीक्षा केन्द्रमा पुगी विद्यार्थीबाट चिट माग्दा भारी मात्रामा गेसपेपर विद्यार्थीले जिशिअलाई बुझाएका थिए । प्रहरीका अनुसार कर्मकाण्डी रुपमा गेटमा चेक गर्दा सबै गेसपेपर विद्यार्थीले भित्रै लगेका थिए । रासस