मोर्चासँगको सहमति प्रयासमा सरकार असफल

चुनावमा जान नसकिने मोर्चाको अडान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासग फेरि एक पल्ट सहमति प्रयास गर्दै स्थानीय चुनावमा भाग लिन आग्रह गरेका छन् । सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको भोलिपल्ट मधेसी मोर्चासँग बिहीबार साझ वार्ता गर्दै दाहालले यस्तो आग्रह दोहोर्‍याए ।

मोर्चा नेताहरुले सहमति खोज्नभन्दा पनि आफूहरुलाई चुनावको पक्षमा दबाब दिन बोलाइएको हो भन्ने प्रश्न गर्दै प्रादेशिक सीमांकन विना चुनावमा जान नसकिने अडान दोहोर्‍याएपछि वार्ता निष्कर्षविहीन बन्न पुग्यो ।

‘हाम्रो संशोधन प्रस्ताव परिमार्जनसहित पास गर्ने कोसिस अहिले जारी छ, तर संसदभित्रको अवस्था हेर्दा तत्कालै पास हुने स्थिति छैन,’ प्रधानमन्त्री दाहालले बैठकमा भने–‘तर सीमांकनबाहेक अरु तीनवटा विषयमा प्रतिपक्षी एमाले पनि सकारात्मक हुने परिस्थिति छ । त्यसैले बीचको बाटो खोज्दै तपाईंहरुले यसमा सहमति गर्नुहोस ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि दाहालकै भनाई दोहोर्‍याउदै केन्द्र र प्रदेशको निर्वाचनअघि जसरी पनि सीमांकन सहित संविधान संशोधन पास गर्ने वचन दिए । ‘मैले त पहिलेदेखि नै सहमति प्रयास गरेकै हो, सकिएन के गर्ने सीमांकनबाहेकका विषयमा एमाले तयारै छ । त्यसैले भैगो, यसैलाई पास गरौं,’ देउवालाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो–‘सीमांकन पनि प्रदेश चुनावअघि जसरी पनि फेरबदल गर्ने हो । अब त मान्नुस् । चुनाव भएन भने देशमा गतिरोध झन् बढ्छ ।’

संघीय समाजवदी फोरम अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनको बटमलाइन नै सीमांकन भएकाले त्यसलाई छाड्न कुनै पनि हालतमा नसकिने अड्डी लिए । ठूला दलले मूल विषय बेवास्ता गर्न खोजेको उनको आरोप थियो ।

‘त्यसलाई नै छाड्नुपर्ने भए त पहिल्यै सहमति भइसक्यो, यसरी मूल कुरालाई नै बेवास्ता गरेर सहमति खोज्नु बेइमानी हो,’ यादवले भने–‘स्थानीय तहको संरचना निर्माणमा पनि हाम्रो सैद्धान्तिक विमति छ, स्थानीय तह प्रदेशको क्षेत्राधिकारभित्र हुनुपर्छ । यसलाई नटुंग्याई चुनावतिर अघि बढ्न सकिन्न ।’ उनले संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रमसमेत सार्वजनिक गरेको भन्दै यथास्थितिमा चुनाव हुन नसक्ने चेतावनी दिए ।

मन्त्री कमल थापाले राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुख हटाउने गरी सहमति खोजेर जानुको विकल्प नभएकोमा जोड दिए । रामसपा अध्यक्ष शरतसिंह भण्डारीले संघीयताबारे सैद्धान्तिक कुरा नै नमिलेको हुनाले अहिलेकै हालतमा चुनावमा जानु जनभावना विपरीत हुने भन्दै सरकारी प्रस्ताव अस्वीकार गरे ।

उनले अहिले नै सीमांकन नमिलाई चुनावमा गए प्रदेश सभा निर्माणमा संवैधानिक अडन आउन सक्नेमा सचेत गराए । तमलोपा अध्यक्ष महन्थ ठाकुर सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने खासै टिप्पणी गरेनन् ।

‘आजको बैठकमा प्रधानमन्त्री र नेताहरुको प्रस्तुति हेर्दा सरकार जसरी पनि चुनाव गराउने माहोल बनाउन लागेको रहेछ भन्ने लाग्यो, सहमतिका लागि उहाहरु गम्भीर देखिनुभएन,’ रामसपा महासचिव केशव झाले भने–‘मिलनविन्दू खोज्ने भन्दा पनि हामीमाथि दबाब दिने उद्देश्यले डाकिएको बुझ्यौं । हामी संघर्षबाहेक अन्य विकल्प रहेन भन्नेमा स्पष्ट छौं । बैठकमा त्यही बताएर निस्कियौं ।’

बैठकमा प्रधानमन्त्री, देउवा र थापा सहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह मन्त्री तथा राप्रपा नेता दीपक बोहरा, माओवादी केन्द्र नेता मातृका यादव पनि सहभागी थिए । मोर्चा तर्फबाट यादव, ठाकुर, कर्ण, भण्डारी सहित नेपाल सद्भावना पार्टी अध्यक्ष अनील झा, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल, सद्भावना महासचिव मनीष सुमनलगायत सहभागी थिए ।

सरकारसग वार्ताअघि तीनकुनेमा बसेको संघीय गठबन्धन बैठकले मोर्चाद्वारा बिहीबार सार्वजनिक आन्दोलनकै कार्यक्रमसग मेल खाने गरी पहाडी जिल्ला सदरमुकाम केन्द्रित आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धन प्रवक्ता ओम गुरुङले बैठकपछि जारी गरेको वक्तव्यअनुसार शुक्रबारदेखि चैत २१ सम्मका लागि असहयोग र अवज्ञा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।