नेताहरु भन्छन- यथास्थितिमै संविधान संशोधन हुन सक्दैन

संविधान संशोधनको ठोस आधार नभएको दाबी

काठमाडौं । सत्तारुढ दल तथा प्रमुख प्रतिपक्षी दलका नेताहरुले यथास्थितिमै संविधान संशोधन हुन नसक्ने धारणा व्यक्त गरेका छन । संविधान संशोधनको ठोस आधार नहुँदासम्म सम्भव नहुने उनिहरुको तर्क छ ।

विहीवार एक कार्यक्रममा बोल्दै नेताहरुले त्यस्तो धारणा व्यक्त गरेका हुन ।

नेकपा (माओवादी) केन्द्रका संसदीय दलका उपनेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले अहिलेकै अवस्थामा संविधान संशोधन सम्भव नरहेको बताए ।

नेता रायमाझीले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधनको एजेन्डा टरेको दावी गरे । अब संशोधनको सम्भावना १ प्रतिशत मात्र बाँकी छ, ९९ प्रतिशत सम्भावना टरि सक्यो उनले भने ।

कांग्रेस नेता एवं गृह राज्यमन्त्री इन्द्र बानियाँले संविधान संशोधन पारित नभए पनि तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताए ।

निर्वाचनका लागि चाहिने आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकार सक्षम रहेको पनि उनले चर्चा गरे। स्थानीय तहको निर्वाचन मुलुकका लागि महाउत्सव भएकाले कसैले रोक्न नसक्ने उनले तर्क गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता प्रकाश ज्वालाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने विश्वास व्यक्त गरे । त्यसैको तयारी स्वरुप एमालेले मेची–महाकाली अभियान चलाइरहेको उनले तर्क गरे ।

निर्वाचनका लागि एमालेले जस्तोसुकै सहयोग सरकारलाई गर्न तयार रहेको प्रष्ट पारे। सकेसम्म सबैलाई समेटेर निर्वाचनमा जानुपर्ने उनले सुभाव दिए ।

व्यवस्थापिका संसद् अन्तर्गतको अर्थ समितिका सभापतिसमेत रहे भएका नेता ज्वालाले एनसेल कम्पनीले पुँजीगत लाभकर तिर्नुपर्ने बताए । पुँजीगत लाभ लिन पाउने तर कर तिर्न नपर्ने निर्णय गलत रहेको उनले तर्क गरे ।

संघीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको तिनबुँदे सहमति कार्यान्वयन नभए निर्वाचन हुन नदिने बताए ।

सरकार सहमति कार्यान्वयनमा उदासीन भएकै कारण मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले प्रष्ट पारे । तिनबुँदे सहमति कार्यान्वयनमा अझै आफूहरु आशावादी रहेको बताए ।

स्थानीय तह प्रदेश मातहत रहेकाले केन्द्रले निर्वाचन गर्नु असंवैधानिक रहेको नेता यादवले तर्क गरे। सरकारले कार्यान्वयनमा ल्याएको ७४४ वटा स्थानीय तहको संरचनालाई आफूहरुले नमान्ने उनले बताए । गोरखापत्र