परीक्षा केन्द्र कायम गरेको विरोधमा निजी विद्यालयका सञ्चालकः प्रश्नपत्र खोसे

जिल्ला शिक्षा कार्यालयले छलफल गर्ने

ललितपुर । परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गर्न नपाइने भन्दै १५ वटा निजी विद्यालयका सञ्चालकहरूले कक्षा ८ को वार्षिक परीक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका खोसेर लगेका छन् । पाटनढोकास्थित पाटन माध्यमिक विद्यालय स्रोतकेन्द्रमा राखिएका प्रश्नपत्र र उत्तरपुस्तिका उनीहरूले खोसेर लग्नुका साथै आफ्नै विद्यालयमा परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका समेत आफैले राखेका छन् ।

निजी विद्यालयहरूले आफ्ना विद्यार्थीहरूबाट परीक्षाका नाममा जथाभावी शुल्क उठाएका थिए । परीक्षा केन्द्र आफ्नै विद्यालयमा राख्दा र आफ्नै शिक्षकहरूबाट उत्तरपुस्तिका परीक्षण गराउँदा उठाइएको शुल्क आफैले गुटमुटयाउ पाइने नियतका कारण उनीहरूले सुरुदेखि नै परीक्षा केन्द्र कायम गर्ने कुराप्रति सहमति जनाउँदै आएका थिए । बुधबारबाट सुरु भएको परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषय सञ्चालन भएको थियो ।

अपरान्ह साढे १२ बजेबाट परीक्षा हुने भनिएकोमा एक घण्टाअगावै विद्यालय सञ्चालकहरूले प्रश्नपत्र र उत्तरपुस्तिका लिएर गएका थिए । पाटन माविका स्रोतव्यक्ति सत्यनारायण महर्जनले आफ्नै विद्यालयमा परीक्षा सञ्चालन गर्न आफूले अनुमति दिन नसक्ने र त्यसका लागि जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर ल्याउनुपर्ने बताएको भन्दै भने– “तर उनीहरूले आफूखुशी लिएर गएका हुन । ”

स्रोतकेन्द्र नेसनल चिल्ड्रेन स्कुल, माइलस्टोन स्कुल, विद्यासदन स्कुल, सुपरभिजन स्कुल, भासरा स्कुल, इटेनगार्डेन स्कुल, शुभकामना स्कुल लगायत विद्यालयका सञ्चालकहरूले प्रश्नपत्र तथा उत्तरपुस्तिका लिएर गएका थिए । अन्य विषयका प्रश्नपत्र सोही स्रोतकेन्द्रमै सुरक्षित छ । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले यसरी विद्यालयले मनपरी गर्न नपाइने भन्दै बिहीबार बिहान सम्बन्धित सबैलाई बोलाइएको र छलफलपछि कारवाही प्रक्रिया अगाडि बढाइने बताए । गोरखापत्र