निर्वाचन तयारी तीव्र: मतपत्र छाप्न सुरु

काठमाडौं । २०७३ निर्वाचन आयोगले वैशाख ३१ मा घोषित स्थानीय तह निर्वाचन तयारी तीव्र पारेको छ ।

आयोगले चैत ५ गतेबाट मतपत्र छपाइ सुरु गर्दै छ । नयाँ किसिमका मतपत्र ठूलो संख्यामा छाप्नुपर्ने भएपछि आयोगले उम्मेदवारी दर्ता नहुँदै मतपत्र छाप्न लागेको हो ।

‘सबै निर्धारित काम समयसीमाभित्रै भइरहेका छन्,’ आयुक्त नरेन्द्र दाहालले भने–‘निर्वाचन सामग्री व्यवस्थापनदेखि, मतदान केन्द्रको परिमार्जन, नीतिरनिर्देशिका बनाउने जस्ता सबै काम तीव्र गतिमा जारी छन् ।’ निर्वाचन मिति घोषणापछि तयारीका लागि १ सय २० दिन समय मागेको आयोगले ८२ दिन मात्रै पाएकाले कामलाई तीव्रता दिनुपरेको हो।

आयोग सचिव गोपीनाथ मैनालीका अनुसार मतदाता नामावलीलाई अन्तिम रूप दिने काम, मतदाता शिक्षा तयारी, मतदानस्थल पुनरावलोकन, मतपत्र डिजाइन, कर्मचारी व्यवस्थापनलगायत काम भइरहेका छन् ।

पुनसंरचना आयोगको प्रतिवेदन ढिलो गरी प्राप्त भएकाले सबै मतदाताको परिवर्तित ठेगानाअनुसारको नामावली मिलाउन केही ढिला भइरहेको उनले बताए । फागुन ९ सम्म नाम दर्ता गराएका करिब १ करोड ४० लाख मतादाताको ठेगाना मिलाएर चैत २० भित्र नामावलीलाई अन्तिम रूप दिने आयोगको कार्यसूची छ ।