एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, भोलिबाट परिक्षा सुरु

भक्तपुर। परिक्षा नियन्त्रक कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिषद्को परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आज कार्यक्रममा बोल्दै परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भोलिबाट सुरु हुने परिक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए। उनले माध्यमिक शिक्षा परिषद् (एसइई) परिक्षाको प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परिक्षा पनि लेटर गेटिङ प्रणलीमा हुने बताए ।

राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परिक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भई नसक्दा परिक्षा नियन्त्रक कार्यालयले परिक्षाको सम्पूर्ण तयारी गरेको नियन्त्रक रेग्मीले जानकारी दिए। भोलिबाट हुने माध्यमिक परिक्षा परिषद्को परिक्षामा देशभर १९ सय २३ वटा परिक्षा केन्द्र तोकिएको बताए ।

जिल्लामा परिक्षा समन्वय समितिले निर्धारण गरेको आधारमा परिक्षा केन्द्र तय गरेको बताउँदै उनले केन्द्रमध्ये काठमाडौमा सबैभन्दा बढी ९६ वटा केन्द्र र मनाङ र मुस्ताङमा एक÷एक वटा परिक्षा केन्द्र रहेको जानकारी दिए। उनले १ सय ५० परिक्षार्थी भएको केन्द्रमा सहायक निरीक्षक थप गर्दै लगिएको र जम्मा २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष भएको बताए ।

उनले परिक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परिक्षामा सामेल रहेको बताउँदै देशभर १ हजार ९ सय २३ परिक्षा केन्द्र, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ सुरक्षाकर्मी खटाइएको जानकारी दिए ।

उनले २५ परिक्षार्थीमा एक निरीक्षक रहने गरी परिक्षाको तयारी गरिएको बताउँदै सबै केन्द्रमा केन्द्राध्यक्ष नियुक्तिदेखि सुरक्षा ब्यवस्था मिलाइसकेको बताए । परिक्षा बिहीबारबाट सुरु भई आगामी १४ गतेसम्म चल्लेछ ।

परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन चैत ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ ।

विभिन्न प्राविधिक विषयसमेत गरी चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ ।