नेपालगञ्जमा मोर्चा र प्रहरीबीच झडपः १० घाइते

प्रहरीद्धारा २ राउण्ड हवाई फायर

काठमाडौँ । बन्द सफल बनाउन सडकमा निस्किएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरी वीच झडप हुँदा १० जना घाइते भएका छन् । मोर्चाका कार्यकर्ताले एमालेको कार्यकर्ता चढेको बसमा तोडफोड गर्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्दा १० जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा कौशल यादव, भुसैली यादव, असलम राई, झब्बर भाट, मतिन खाँ, जमिल भाट, गरिवा तेली, भुजौ नाउ, सहमतुल्लाह अन्सारी र जमिल भाट रहेको संघीय समाजबादी फोरमका अध्यक्ष कमरुद्धिन राईले जानकारी दिए ।

घाइते मध्ये ७ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको र बाँकीको सामान्य उपचार पछि घर फर्किएको उनले जानकारी दिए । धेरै जसोको टाउको र खुट्टामा चोट लागेको पनि उनले जानकारी दिए ।

बसमा तोडफोडका साथै प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले २(२ राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर गिरीले जानकारी दिए । मोर्चाका तीन जना कार्यकर्ता बन्ना भाट, दुजी जरवट र इर्फान खानलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।