सुर्तीजन्य पदार्थमा रोक, कार्यान्वयन शून्य

काठमाडौं । सरकारले दैनिक उपभोग्य वस्तु बिक्री गर्ने ठाउँमा मंगलबारदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने नियम लागू गरे पनि कार्यान्वयन शून्य छ । राजधानीलगायत देशभरि नै किराना पसलबाटै सुर्तीजन्य पदार्थ बिक्री भइरहेको छ ।

हालको व्यवस्थाअनुसार इजाजत लिएका पसलबाट मात्र सुर्तीजन्य पदार्थ बेच्न पाइन्छ । तर, हालसम्म कतिले यस्तो इजाजत लिए भन्ने जानकारी स्वास्थ्य मन्त्रालयसँग छैन । गत माघ ६ गतेको मन्त्रिपरिषद् बैठकले सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी नयाँ निर्णय गरेको हो ।नयाँ नियमअनुसार इजाजत लिएका सुर्तीजन्य पदार्थका बिक्रेताहरूले सबैले सजिलै देख्न–पढ्न सक्ने गरी सूचना पाटी राख्नुपर्ने । सूचनामा १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइनेलगायत बनाएको थियो। तर, राजधानीका विभिन्न स्थानमा रहेका चल्तीका पसलमा कुनै सूचना देखिँदैन ।

सुर्तीजन्य पदार्थ गैरकानुनी रूपमा बेच्नेलाई अनुसन्धानका लागि २५ दिन थुनामा राख्न र १० हजार रुपैयाँसम्म जरिबाना गर्न सकिने प्रावधान छ । ‘हामीलाई यसबारे केही थाहा छैन, कसैले भनेको छैन,’ नयाँ बानेश्वरमा किराना पसल चलाउँदै आएका एक खुद्रा व्यापारीले भने–‘कसैले नमानेको कानुन हामीले मात्रै कसरी मान्ने’ सुर्तीजन्य पदार्थमा चुरोट, बिँडी, सिँगार, सुल्फा, कंकड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती, नशलगायत पर्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।