स्थानीय तहको निर्वाचन गरेरै छाड्ने उपप्रधानमन्त्री थापाको प्रतिबद्धता

संविधान कार्यान्वयन अहिलेको राष्ट्रिय आवश्यकता

काठमाडौँ । उपप्रधान एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले जस्तोसुकै अवस्थामा आएपनि स्थानीय तहको निर्वाचन गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

मिडिया नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन । उनेले भने– “संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनु अहिलेको राष्ट्रिय आवश्यकता हो ।”

उपप्रधानमन्त्री थापाले प्रजातान्त्रिक अभ्यास गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन हो, यसवाट कोहि पनि टाढा रहनु हुन्न, यसका लागि सरकार हदैसम्म लचकदार बन्न तयार छ भन्दै मुलुकलाई बचाउन र बनाउन सबै तिक्ततालाई चटक्कै बिर्सी निर्वाचनमा होमिन सबैसंग आग्रह गरे ।

पछिल्लो समयमा पार्टीगत पत्रकारिताले जग गाडेको भन्दै उहाँले आमसञ्चार माध्यमलाई व्यावसायिक बनाएर पेसागत चुनैतीको सामना गर्न आग्रह गरे ।

थापाले संविधान संशोधन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पस्ट पार्दै “असन्तुष्ट रहेका मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण तयार हुनुपर्नेमा जोड दिए ।

राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले मधेसको समस्यालाई सम्बोधन नगर्ने हो भने देशले ठूलो क्षति व्यहोर्नुपर्ने बताउँदै समस्याको सम्बोधन गर्नु वर्तमान सरकारको प्रमुख दायित्व रहेको बताए । रासस