आउँदो मङ्गलबार फ्रान्सेली खाना महोत्सव हुने

नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास

काठमाडौँ । नेपाल लगायत विश्वका धरै मुलुकमा आयोजना हुनलागेको फ्रान्सेली खाना महोत्सव (गु द फ्रान्स) चैत्र ८ गतेबाट नेपालमा पनि सुरु हुने भएको छ । हिजो फ्रान्सेली राजदूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

फ्रान्सेली विदेश मन्त्रालयको आह्वानमा मार्च २१ तारिख (चैत ८) मा विश्वभर आयोजना हुने गु द फ्रान्समा विश्वका नाम चलेका तारे होटल र रेस्टुराँमा फ्रान्सेली खानाका दक्ष भान्सेले तयार पारेका खानेकुरा ग्राहकलाई पस्किने फ्रान्सेली राजदूतावासले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि फ्रान्सका राजदूत इभ कार्मोनाले ‘गु द फ्रान्स’का माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताए ।

उनले भने–‘फ्रान्स र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको छ । नेपालको सामाजिक एवम् आर्थिक विकासमा सक्दो सहयोग गर्नमा फ्रान्स जहिले पनि तयार रहेको छ । हामीले यो कार्यक्रम मार्फत सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरेका छौ ।’

तीन वर्षदेखि नेपालमा पनि आयोजना हुँदै आएको गु द फ्रान्समा यस पटक होटल सोल्टी, होटल याक एन्ड यति, सिल्भर माउन्टेन र गेट कलेज तथा ला शेर्पाले नेपालमा नै उत्पादित सामग्रीबाट फ्रान्सेली खाना पस्कने जनाइएको छ ।

गु द फ्रान्सबाट आर्जित रकममध्ये पाँच प्रतिशत मानवीय सेवामा क्रियाशील सामाजिक संस्थालाई प्रदान गरिने बताइएको फ्रान्सेली राजदूतावासले जनाएको छ ।