संविधान संशोधन बिषयमा प्रचण्ड र ओलीबिच वार्ता

ओली आफ्नो पुरानै अडानमा

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् । पार्टीको मेची–महाकाली जागरण अभियानमा रहेका ओलीलाई काठमाडौं बोलाएर प्रचण्डले संविधान संशोधनमा सघाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जरुरी छलफलको आवश्यकता रहेको भन्दै ओलीलाई काठमाडौं बोलाएको उनीनिकट स्रोतले बतायो । ‘जरुरी छलफल गर्नुपर्ने भयो भन्दै प्रधानमन्त्रीबाट बोलावट भएपछि पूर्वनिर्धारित कार्यक्रम छोडेर उहाँ काठमाडौं फर्किनुभएको हो’–ओलीनिकट स्रोतले भन्यो । ओली पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत कपिलवस्तु र दाङसम्म पुग्ने कार्यक्रम थियो ।

दुई नेताबीच सोमबार साँझ झन्डै एक घन्टा छलफल भएको थियो । भेटमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र मेची–महाकाली अभियानमा सरकारको तर्फबाट प्रत्याभूत गर्ने शान्तिसुरक्षालगायतका विषयमा छलफल भएको ओलीनिकट स्रोतको भनाइ छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि संविधान संशोधनलगायत समसामयिक राजनीतिका विषयमा केन्द्रित रहेर दुई नेताबीच छलफल भएको जानकारी दिए । ‘प्रधानमन्त्रीले संविधान संशोधनमा सघाउन एमाले अध्यक्षलाई पुनः आग्रह गर्नुभयो’– आचार्यले भने, तर, ओली आफ्नो पुरानै अडानमा देखिए ।’

मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा नजाने अडान लिएपछि प्रधानमन्त्री प्रचण्ड अझै संशोधनमा दुईतिहाइ पु¥याउने कसरतमा छन् । प्रधानमन्त्रीले देशलाई मुठभेडबाट जोगाउन र प्राप्त उपलब्धिको रक्षाका लागि संवेदनशील बन्न ओलीलाई आग्रह गरेका थिए । यसअघि पनि उनले २५ फागुनमा ओलीसँग छलफल गरेका थिए ।

दुई नेताबीच पटक–पटक भएका छलफल सकारात्मक निष्कर्षमा पुगेका छैनन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा मधेसी मोर्चालाई पनि निर्वाचनमा लिएर जान संविधान संशोधन गर्नुपर्ने अवस्था रहेको बताउँदै आएका थिए ।