निर्वाचनअघि गोष्ठी,तालिममा कर्मचारीलाई रोक

काठमाडौं । सरकारका सचिवहरूले स्थानीय तहको निर्वाचन नसकिएसम्म देशभर सबै प्रकारका गोष्ठी, तालिम र सेमिनार गर्न रोक लगाउने निर्णय गरेका छन् । सचिवहरूको सोमबार बसेको बैठकले घोषित निर्वाचन समयमै सम्पन्न गर्न १२ बुँदे निर्णयसमेत गरेको छ ।

मुख्यसचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन सफल बनाउन भन्दै सरकारीस्तरबाट गोष्ठी तथा तालिम नगर्ने निर्णय गरेको हो । निर्वाचनमा कर्मचारी खटनपटनमा समस्या हुन सक्ने भएकाले त्यस्ता कार्यक्रम नगर्ने निर्णय भएको मुख्यसचिवका निजी सचिव गोकुल बस्नेतले जानकारी दिए ।

बैठकले सात सय ४४ स्थानीय तहमा ३ चैतभित्र कर्मचारी पुग्ने गरी व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । कर्मचारी खटिनुअघि निर्वाचनको काम थाल्न प्रत्येक स्थानीय तहमा कायममुकायम कर्मचारी व्यवस्था गरेर निर्वाचन आयोगलाई जानकारी दिन पनि स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।

स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी खटाउँदा सम्भव भएसम्म सम्बन्धित सेवा समूहबाट र सम्भव नभएमा अन्य सेवा समूहबाट पनि व्यवस्थापन गर्ने निर्णय सचिव बैठकको छ । स्थानीय तहको पुनर्संरचना भइसकेकाले नागरिकता, जग्गाधनी प्रमाणपत्रलगायतका विवरण स्रेस्तामा व्यक्तिको ठेगाना मिलान गर्ने प्रबन्ध मिलाउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

स्थानीय तहका कानुन पुनरावलोकन नभएकाले सम्बद्ध कानुनलाई संविधानमा भएको व्यवस्था र सरकारबाट स्वीकृत भएको संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीभित्र पर्ने कानुन तत्कालै पुनरावलोकन गर्ने निर्णयसमेत भएको छ । बैठकले यीसँगै नयाँ कानुन निर्माण गर्न कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।