प्रधानमन्त्री प्रचण्ड १० चैतमा चीन जाँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । यसपालि प्रधानमन्त्रीमा निर्वाचित भएपछिको उनको यो पहिलो चीन भ्रमण हुनेछ । चीनको हाइनान प्रान्तमा हुने एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा सहभागी हुन उनी १० चैतमा त्यसतर्फ जान लागेका हुन् । सम्मेलनको उद्घाटन कार्यक्रम १२ चैतमा छ।

‘चीन सरकारको औपचारिक निमन्त्रणामा प्रधानमन्त्रीको भ्रमण हुन लागेको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । बोआओ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड बेइजिङ जाने र उच्चस्तरीय भेटवार्ता गर्ने तयारी भएको छ । १० देखि १३ चैतसम्म चीनको हेनान प्रान्तमा बोआओ मञ्चको सम्मेलन हुँदै छ ।

प्रधानमन्त्री प्रचण्ड १५ चैतमा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारीले भ्रमणबारे छलफल भइरहेको बताए । ‘परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ, सबै कुरा फाइनल भएको छैन’– अधिकारीले भने ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ताको तयारी

प्रधानमन्त्री प्रचण्डले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली खछियाङसहित उच्चस्तरीय भेटवार्ता गर्ने तयारी भएको छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणमा गत वर्ष दुई देशबीच भएका आठबुँदे सम्झौताका आधारमा पारवहन तथा यातायात सम्झौताको प्रोटोकल, तिब्बतमा नेपालले राजमार्ग प्रयोगसम्बन्धी सम्झौता, स्वतन्त्र व्यापार सम्झौता गर्ने गृहकार्य भइरहेको छ । ‘अहिलेसम्म कुनै पनि कुरा टुंगिएको छैन’– परराष्ट्र स्रोतले भन्यो ।

गत असोज अन्तिम साता प्रधानमन्त्री प्रचण्डले भारतको गोवा भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग साइडलाइन भेटवार्ता गरेका थिए । गोवामा प्रचण्ड बसेको ठाउमा चिनियाँ राष्ट्रपति अचानक पुगेपछि त्रिपक्षीय वार्तासमेत भएको थियो । गोवामा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो ।

चिनियाँ मन्त्रीको भ्रमण अनिश्चित

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तयारीसँगै चिनियाँ परराष्ट्र मामिलासम्बन्धी सहायकमन्त्री कोङ सुयान्युको नेपाल भ्रमण अनिश्चित भएको छ । उनी परराष्ट्रसचिव शंकरदास बैरागीको निमन्त्रणामा कूटनीतिक परामर्श संयन्त्रको ११औँ बैठकमा आउने कार्यक्रम थियो । उनी ७ देखि ९ चैतसम्म नेपाल आउने तय भएको थियो । प्रधानमन्त्रीको भ्रमण हुने अवस्थामा यो बैठक हुँदैन परराष्ट्र स्रोतले बतायो ।

प्रधानमन्त्रीको भ्रमणले चीनका रक्षामन्त्री चाङ वाङक्वानको भ्रमण पनि पछि सर्ने भएको छ । चैत ११–१३ सम्म उनी आउने कार्यक्रम थियो । उनले १२ चैतमा रक्षामन्त्री खाणसँग औपचारिक दुईपक्षीय वार्ता गर्नेसमेत तय भइसकेको थियो ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।