नयाँ संरचना लागू भएसँगैः कर्मचारी अन्योलमा

काठमाडौं । जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकका कर्मचारीहरूलाई सोमबार भ्याइनभ्याइ थियो । केही कर्मचारी नयाँ लेटर प्याड छाप्न दगुरिरहेका थिए भने कोही बोर्ड फेर्न, छाप बनाउन भन्दै प्रेसमा धाइरहेका थिए ।

स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही पुनःसंरचनाअनुसार स्थानीय तहमा नयाँ कर्मचारीहरू खटाइएको पत्रमा हस्ताक्षर गरिरहेका थिए । संविधानले व्यवस्था गरेबमोजिम पुराना स्थानीय संरचना स्वतः रद्द भई नयाँ संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको व्यवस्था गरेपछि गाविस र नगरपालिकाका कर्मचारीहरू अन्योलमा देखिन्थे ।

जिल्ला समन्वय समितिको कार्यालय (तत्कालीन जिल्ला विकास समितिले यसअघिका पुरानो संरचनाका सबै गाउँ विकास समिति र नगरपालिकाका कर्मचारीहरूलाई कार्यालयमा बोलाई अब नयाँ संरचनाअनुसार काम गर्नका लागि निर्देशन दिन आयोजना गरिएको कार्यक्रममा स्थानीय निकायका अस्थायी कर्मचारीहरू आफ्नो भविष्यबारे अन्योलमा देखिन्थे ।

स्थानीय विकास मन्त्रालयले तत्कालै कर्मचारीहरू व्यवस्थापन गरी स्थानीय तहको शासन सञ्चालनका लागि निर्देशन दिएपछि जिल्ला समन्वय समितिको कार्यालयले सोमबार नै जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामा प्रमुखहरूको व्यवस्था गरी कर्मचारी खटाएको स्थानीय विकास अधिकारी शाहीले जानकारी दिए ।

तत्कालीन गाविस सचिवमध्येबाट ज्येष्ठताका आधारमा प्रमुखको जिम्मेवारी दिइएको शाहीले जानकारी दिए । ‘केन्द्रबाट कर्मचारी नपठाउँदासम्म उनीहरूले मंगलबारदेखि नै कामकाज सुरु गर्ने शाहीले भने, ‘केही अन्योल छ, तर यो बिस्तारै ठीक हुन्छ ।’ यसअघिका गाविस स्वतः वडा कार्यालयमा परिणत भएको छ भने दुई वडा भएको यसअघिको गाविसमा संयुक्त वडा कार्यालय स्थापना हुने स्थानीय विकास अधिकारी शाहीले बताए ।

गाउँपालिका र नगरपालिकामा अब कर्मचारी व्यवस्थापन गर्दा सबै स्थायी र अन्य सेवा समूहबाट पनि हुने भएपछि यसअघि स्थानीय तहमा कार्यरत कर्मचारीहरू कता व्यवस्थापन हुने हो अन्योलमा नै रहेको गाविस कर्मचारी संघका केन्द्रीय सदस्य मिमबहादुर योञ्जनले बताए ।यसअघि जिविस, गाविस र नगरपालिकाहरूले असारसम्मको योजना सम्झौता गरेकाले अब भुक्तानीलगायत अन्य प्रक्रियामा पनि समस्या देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।