नयाँ शक्तिको मागः प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय व्यवस्था

प्रधानमन्त्रीलाई बुझाए,१० लाख हस्ताक्षर

काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको पक्षमा दबाव सिर्जना गर्नका लागि नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाख नागरिकको हस्ताक्षर बुझाएको छ ।

माइतीघर मण्डलामा आज एक घन्टा धर्ना दिएपछि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले उक्त हस्ताक्षर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका हुन ।

प्रधानमन्त्रीसँगको भेटमा नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले आफुहरु पनि निर्र्वाचनको पक्षमा रहेको बताउदै सबै दलहरु निर्वाचन प्रकृयामा आउने खालको वातावरण निर्माण गर्न आग्रह गरे ।

डा. भट्टराईले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा सजाय दिनुपर्ने बताउदै समय समयमा देखिदै आएको सीमा समस्याको दिर्घकालीन समाधान खोज्नका लागि प्रधानमन्त्री समक्ष ध्याकर्षण गराए ।

संयोजक भट्टराईले संविधान संशोधन गरेर निर्वाचनमा जादा सबै समस्याको हल हुने सुझाव दिदै प्रधानमन्त्री प्रचण्डलाई मधेशका समस्याको पहिले समाधान खोज्न आग्रह समेत गरेका थिए । उनले एनसेलको करछली प्रकरणलाई सघाउने गरी मन्त्रिपरिषदले गरेको निर्णय फिर्ता लिन पनि आग्रह गरे ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको लागि घरघरमा नयाँ शक्ति अभियान अन्तर्गत आज सम्म १० लाख नागरिकको हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाएको हो ।