टेलिकमलाई एक नम्बरको सेवाप्रदायीक बनाउने अध्यक्ष गुरुङ्गको दाबी

आज नवौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को मुनाफा रकम मध्येबाट स्वीकृत चुक्ता पूँजीको ५१ प्रतिशतका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने, कम्पनीको नियमावलीमा संसोधन लगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको जनाएको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७२।७३ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७३ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७२÷७३ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ। व। २०७३÷७४ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टड एकाउण्टेण्ट सुबोध कुमार कर्णलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले साधारणसभामा उपस्थित शेयर धनीहरुलाई स्वागत गर्दै कम्पनीको नवौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिबेदन पेश गर्दै उनले कम्पनीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु¥याउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताए ।

उनले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धता मार्फत  बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताए ।

उनले आगामी दिनमा गुणस्तरीय सेवा दिदै कम्पनीलाई सधैँ देशको एक नम्बर सेवाप्रदायकको रुपमा राखी शेयर धनीहरुलाई अझ बढी प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे । उनले लाभांश रकम २०७३ चैत्र १ गते देखि शेयरधनीहरुलाई वितरण गरिने जानकारी गराएका छन ।