केन्यालाई ७ विकेटले पछि पार्दै नेपाली टोली विजयी

११८ बल बाँकी छँदै नेपाली टोलीको विजयी

काठमाडौं । आज भएको वल्र्ड क्रिकेट लिग च्यापियनसिप अन्तर्गतको खेलमा केन्यालाई नेपालले ३० दशमलव २ ओभरमा ३ विकेट गुमाउदै विजय हासिल गरेको छ । आजको खेलमा केन्याले १५६ रनको लक्ष्य राखेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा केन्यालाई ७ विकेटले पछि पार्दै नेपाल विजयी हुनपुगेको हो ।
नेपालले ११८ बल बाँकी छँदै आफ्नो लक्ष्य पार गर्न सफल भयो ।

गत शनिवार केन्यासँग भएको पहिलो खेलमा ५ विकेटले नेपाल पराजित भएको थियो । नेपालले आज भने आफ्नो जित हासिल गरेको छ ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले सबै विकेट गुमाएर ४६.१ ओभर खेल्दै १५५ रन जोडेको थियो ।

सोमवार भएको खेलको कप्तान ज्ञानेन्द्र मल्लले नटआउटबाट ६४ रन जोडे भने दीपेन्द्र सिंह ऐरीले ६६ बलमा ६२ रनथपेका थिए । त्यसैगरी ऐरीले एक छक्का र ८ चौका जोडेका थिए ।

ऐरी क्याच आउट भएपछि ब्याटिङ सम्हालेका शरद भेषवाकरले मात्र ११ बलमा १ छक्का र ४ चौकाको मद्दतमा २४ रन जोडे भने सागर पुनले ५ तथा सुनिल धमलाले मात्र एक रन जोडेका थिए ।