संविधान संशोधन बिधेयक पास नभए निर्वाचन गर्न दिन्नौं– अध्यक्ष ठाकुर

माग पुरा नभएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिखित रुपमा चुनाव स्थगित गर्न माग गर्दै चुनाव स्थगित नगरेसम्म सरकारलाई दिएको अल्टिमेटमबाट पछि नहट्ने बताएको छ ।

आज पत्रकार ऋषी धमालासँगको एक बहस कार्यक्रममा तमलोपाका अध्यक्ष तथा मोर्चाका शीर्ष नेता महन्त ठाकुरले सरकारले निर्वाचन स्थगित नगरेसम्म आफ्नो अडानबाट पछि नहट्ने बताएका हुन ।

अध्यक्ष ठाकुरले मधेसी मोर्चालाई अपहेलित गर्ने दलहरुका अगाडी मोर्चा नझुक्ने चेतावनी दिदै मधेसी मोर्चाले राखेको माग पारित हुनेगरि संविधान संसोधन अगाडी बढाउनुपर्ने धारणा राखेका छन ।

मोर्चाले राखेको अल्टिमेट अनुसार काम नभएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउदै ठाकुरले भने–‘हामीले मधेसमा भाषाका हिसावले हिन्दीहुनुपर्ने भनेका छौ । पहिला संविधान संशोधन हुनुपर्ने र त्यसपछि मात्र स्थानीय निर्वाचनको कुरा गर्नु पर्ने थियो तर सरकारले त्यलाई कुल्चेको छ । संविधान संशोधन नभएसम्म निर्वाचन हुन गाह्रो छ । सरकारलाई समर्थन दिईराख्न पनि गाह्रो हुन्छ ।’

संसदमा पेश भएको संविधान संशोधन बिधेयक पास नभए स्थानीय तहको निर्वाचन हुन नदिने बताउँदै उनले भने–‘संविधान संशोधन गरेर मधेसी, थारु र जनजाति लगायतको माग पूरा नभए निर्वाचनमा नगई मधेसी मोर्चा आन्दोलनमा जान्छ, संशोधन विधेयक कानुनसम्वत छ, सरकार गठनकै क्रममा सत्तासिन दलहरुले माग पूरा गर्ने प्रतिबद्धता जाहेर गरे अनुसार नभए निर्वाचन हुन दिन्नौँ ।’