नास्टद्वारा सातवटै प्रदेशमा विज्ञान प्रयोगशाला खोलिने

काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सातवटै प्रदेशमा आफ्नो विज्ञान प्रयोगशाला स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । नास्टका उपकुलपति डा. जीवराज पोखरेलले वैज्ञानिक अनुसन्धानलाई मोफसलमा समेत विस्तार गर्ने उद्देश्यले प्रथम चरणमा २०७३ चैतमा महेन्द्रनगरमा खोल्ने भएको जानकारी दिए ।
“देशका सातै प्रदेशको उपयुक्त ठाउँमा विज्ञान प्रयोगशाला स्थापना गर्न लागेको हौँ । सबै प्रदेशका सम्भावित स्थानमा गएर सरोकारवालासँग प्रारम्भिक अन्तरक्रिया गरिसकेका छौँ,”– उनले भने।

जडीबुटी क्षेत्रमा सबल रहेको सुदूरपश्चिम क्षेत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सहकार्यमा यससम्बन्धी प्रयोगशाला स्थापना गरेर अनुसन्धान कार्य सञ्चालन गर्ने पहल नास्टले गरेको हो ।

नास्टले खोल्न लागेका प्रदेश कार्यालय तथा प्रयोगशालामध्ये प्रदेश नम्बर १ को विराटनगरमा पेय प्रयोगशाला, प्रदेश नम्बर २ को जनकपुरमा खाद्यप्रविधि प्रयोगशाला, प्रदेश नम्बर ३ को हेटौँडामा औद्योगिक प्रयोगशाला, प्रदेश नम्बर ४ को पोखरामा पेय प्रयोगशाला, प्रदेश नम्बर ५ को दाङमा प्राचीन ज्ञान विज्ञान प्रयोगशाला, प्रदेश नम्बर ६ को सुर्खेतमा पशुपन्छी प्रयोगशाला र प्रदेश नम्बर ७ को महेन्द्रनगरमा जडीबुटी प्रयोगशाला रहनेछन् ।

नास्टका अनुसार यसरी खोलिने एउटा प्रयोगशालाको निर्माण अन्तिम चरणसम्म पुग्दा भवन निर्माणमा साढे चार करोड, उपकरण खरिदमा एक करोड गरी जम्मा साढे पाँच करोड रुपियाँ खर्च लाग्नेछ । सातवटै प्रदेशमा प्रयोगशाला निर्माण गर्न नास्टलाई ४० अर्ब रुपियाँभन्दा बढी खर्च जुटाउनु पर्नेछ । यसका लागि प्रारम्भिक रकमस्वरूप नेपाल सरकारबाट ५० लाख रुपियाँ नास्टले पाएको छ ।

“खासमा नास्ट खोल्ने प्रयोगशाला विश्वविद्यालय जहाँ छन्, त्यहाँ राख्दा वैज्ञानिक अध्ययन अनुसन्धान गर्न सहज हुने भएकाले सोबमोजिम स्थान छनोट भएको हो । यसरी स्थापना हुने प्रयोगशालाको निर्माणका लागि सरकारी तथा गुठीको जग्गा प्रयोग गर्ने सोचमा छौँ,” उपकुलपति डा. पोखरेलले भने । गोरखापत्र