भारतीय एसएसबीद्धारा हत्या गरिएका गौतमको आज राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

नेपाल प्रहरीले ११ तोपको सलामी अर्पण

तस्बिरः गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिदै

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएका सहिद गोविन्द गौतमको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शहीद गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी समेत दिएको थियो ।

कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गौतमको पार्थीव शरीरलाई दोदा नदीमा उनका ७२ वर्षीय बाबु खेमलाल गौतमले दागबत्ती दिएका हुन ।

गौतमको राष्ट्रिय सम्मानका साथ शवयात्रा गरिनुपर्ने माग गर्दै आएका स्थानीय नागरिकहरुको ठूलो संख्या धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शव निकालिएपछि शवयात्रामा सहभागी भएको थिए । गौतमको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा नदीमा पुर्याएर अन्त्यष्टि गरिएको थियो ।

पुनर्वासको आनन्दबजारमा सीमा नजिकै कल्भर्ट राख्ने विषयमा विवाद भएपछि एसएसबीले नेपाली भूमिमै प्रवेश गरेर गत विहीबार गौतमको गोली हानी हत्या गरेको थियो । उनको हत्यापछि स्थानीयहरुले साष्ट्रिय सम्मान गरिनुपर्ने माग राख्दै लाश बुझ्न मानेका थिएनन ।