स्थानीय निकायको निर्वाचनमा बैद्य माओवादीले भाग नलिने

राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा उत्पन्न भएको ठहर

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सरकारले वैशाख ३१ गतेको लागि घोषणा गरेको स्थानीय निर्वाचनमा भाग नलिने भएको छ । हालै सम्पन्न पार्टीको सचिवालय बैठकले त्यस्तो निर्णय गरेको अध्यक्ष मोहन बैद्य किरणले आज विज्ञप्ती सार्वजनिक गदैँ त्यस्तो बताएका हुन ।

अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सत्ता पक्ष र वर्तमान ब्यवस्था पक्षधर दलहरुबीच नै अन्तरविरोध चर्किदै गएको वर्तमान अवस्थामा निर्वाचनको वातावरण बन्न सकेको छैन । सरकारमा सम्मीलित दलहरु आफैले बनाएको संविधानअनुसार पहिले प्रदेशको निर्वाचन गरी त्यसपश्चात स्थानीय निर्वाचन हुनुपर्नेमा सो नभएको र विशेष संरक्षित तथा स्थानीय स्वायत्त क्षेत्रका सबै पहिचानसहितको संघीयताको मान्यतालाई उलंघन गरिएको छ ।’

वैद्यले विज्ञप्ती मार्फत भनेका छन–‘सप्तरी घटनामा निर्दोष ब्यक्तिहरुको हत्या गरिएको घटनाले द्वन्द्व बढाउँदै लगेको छ । त्यस्तै कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल नेपालभित्र घुसपैठ गरी देशभक्त युवाको हत्या गरिएको छ । यतिबेला देशको राष्ट्रियतामाथि गम्भिर खतरा उत्पन्न भएको छ । हामीले निर्वाचनको वातावरण देखेका छैनौ ।’

उनले देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा उत्पन्न भएको स्थितिमा गरिने निर्वाचन कुनै औचित्य नभएको भन्दै आफ्नो पार्टी निर्वाचनमा सहभागी नहुने प्रष्ट पारेका छन ।