सप्तरी बन्द फिर्ता

सप्तरी। आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेशी मोर्चाले शनिबार साँझबाट फिर्ता लिएको छ ।

गत सोमबार नेकपा (एमाले)को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रूपनी सडकखण्डअन्तर्गत बसबिटी गाविसस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा मोर्चाको विरोध कार्यक्रममा प्रहरीको गोली लागेर मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागेर मृत्यु भएकालाई शहीद घोषणा, उनीहरूका परिवारलाई क्षतिपूर्ति, परिवारको एक सदस्यलाई सरकारी जागिर र घाइतेको उपचार राज्यले बेहोर्नुपर्नेलगायत मागमा स्थानीय प्रशासनले सहमति जनाएपछि बन्द फिर्ता लिइएको मोर्चाले जनाएको छ ।

आक्रोशमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यकर्ताले जिल्लाको विभिन्न ठाउँमा तोडफोड गरेका थिए । उनीहरूले प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको राजविराज–९ स्थित घरमा तोडफोड, व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाको राजविराज–९ स्थित सम्पर्क कार्यालयमा समेत तोडफोड गरेका थिए ।