सप्तरीमा पाँचैजनाको अन्त्येष्टि

सप्तरी,फागुन २९ । एमालेको मेची–महाकाली अभियानका क्रममा ६ दिनअघि सप्तरीको मलेठमा भएको घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको शनिबार अन्त्येष्टि गरिएको छ । त्यसअघि निकालिएको शवयात्रामा सप्तरीसँगै सिरहा र सुनसरीका हजारौँ सर्वसाधारण सहभागी थिए ।
मधेसी मोर्चाले प्रहरीको गोलीबाट मारिएकाहरूलाई सहिद घोषणा, पीडित परिवारलाई राहत तथा परिवारका एकजना सदस्यलाई सरकारी जागिर दिनुपर्ने माग गरेको छ । त्यस्तै, घाइतेहरूको तत्कालै उपचार तथा उपचार खर्च राज्यले व्यहोर्नुपर्ने, घटनाको उच्चस्तरीय समावेशी न्यायिक छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि मोर्चाले गरेको छ ।

शवयात्रा सुरु हुनुअगाडि मधेसी मोर्चामा आबद्व रहेका मधेसवादी दलका जिल्ला अध्यक्षहरूले संयुक्त रूपमा आ–आफ्ना पार्टीका झन्डा पार्थिव शरीरमा ओढाएका थिए । शवयात्रामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सांसद् डा. वीरेन्द्र महतो सहभागी थिए ।

रामसपाका उपाध्यक्ष शेखर सिंह, सचिव गजेन्द्र मण्डल, सद्भावना पार्टीका उपाध्यक्षद्वय मृगेन्द्रसिंह यादव र नवलकिशोर साह, तमलोपाका सह–महामन्त्री जयप्रकाश ठाकुर, फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, मधेस प्रदेशका मुख्यसचिव शम्भु झा, सद्भावना पार्टीका केन्द्रीय सदस्यहरू दिनेशकुमार यादव, दीपेन्द्र चौधरीसहितका नेताले पाँचैजनाको पार्थिव शरीरमा फूल चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका थिए । रामसपा अध्यक्ष शरत्सिंह भण्डारी भने रुपनीमा मात्र शवयात्रामा सहभागी हुन आइपुगेका थिए ।

मृत्यु भएका मलेठका सञ्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र मेहताको अन्त्येष्टि सोही गाउँमा सामूहिक रूपमा गरिएको छ भने आनन्द साह र इन्द्रदेव यादवको अन्त्येष्टि आ–आफ्नो गाउँमा गरिएको मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले जानकारी दिए । यसैबीच, मधेसी मोर्चाले अनिश्चितकालीन सप्तरी बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

लहानमा स्वतस्फूर्त बन्द शवयात्रा सिरहाको लहान आइपुग्दा स्थानीयले स्वतस्फूर्त रूपमा बजार तथा पसल बन्द गरेका थिए । शवयात्रालाई लहानस्थित मधेस आन्दोलनको पहिलो सहिद रमेश महतोको सालिक परिक्रमा गराइएको थियो । उनीहरूले सरकार तथा एमालेविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।