पुनर्बासमा देखिएको भारतीय मनोविज्ञान

काठमाडौँ,फागुन २९ । कञ्चनपुरको पुनर्बासमा भारतसँग सीमा जोडिएको नेपाली भूभाग भारतीय पक्षले बलपूर्वक मिच्न खोज्दा भएको तनावमा भारतीय सीमा सुरक्षा बलका अधिकारीले गोली प्रहार गर्दा स्थानीय नागरिक गोविन्द गौतमको मृत्यु भएको छ ।

गत बिहीबार भएको उक्त घटनामा अरू आधा दर्जन नेपाली घाइते भएका छन् । भोलिपल्ट उक्त घटनाको विरोधमा भएको प्रदर्शनका क्रममा पनि भारतीय पक्षबाट अश्रुग्यास र हवाई फायर भएको छ । त्यसको विरोधमा हिजो देशभरजसो विरोध भएको छ । सरकारले काठमाडौंस्थित भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोटमार्फत आफ्नो विरोध प्रस्तुत गरेको छ । दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय परराष्ट्र मन्त्रालयमा गएर नेपालको विरोध दर्ज गरेका छन् ।

यी कूटनीतिक पहलका बाबजुद भारतले उक्त घटनामा आफ्नो जिम्मेवारी स्वीकार गरेर माफी मागिसकेको छैन । यसलाई लिएर संसद्मा सांसदहरूले भारतको विरोध गर्दै सरकारलाई कडा कदम चाल्न दबाब दिएका छन् । एक प्रकारले तीन दिनदेखिको राजनीतिलाई यसैले प्रभावित गरिरहेको छ । यो प्रकरणपछि नेपालमा गत वर्ष भारतले लगाएको नाकाबन्दीको सम्झना ताजा भएको छ र मानिसहरू भारतको नियतमाथि प्रश्न गरिरहेका छन् ।

यता, अघिल्लो साता सप्तरीमा भएको घटना, नेपालको आन्तरिक राजनीतिमा बढ्दै गएका द्वन्द्वहरूले समेत घटनालाई थप पेचिलो बनाएको छ । त्यही क्रममा काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो प्रहरीले गोली नचलाएको भन्दै दिएको वक्तव्यले भारतप्रति नेपालीहरूमा थप घृणा उत्पन्न भएको छ । दीर्घकालीन रूपमा यही घटनाले दुई देशको सम्बन्धलाई प्रभावित नगरे पनि यसले नेपालीहरूमा पर्ने मनोवैज्ञानिक प्रभाव भने लामो समयसम्म रहनेछ ।

दुनियाँका सबै देश कुनै अर्को देशको सीमासँग ठोकिएरै अस्तित्वमा रहेका छन्, चाहे जलमा होस् या थलमा । यस्ता सिमानाको अस्तित्वका आफ्नै ऐतिहासिक कारणहरू छन् । एक–अर्काका सीमालाई स्वीकार गरेर र सार्वभौमसत्ताको सम्मान गरेर नै सभ्य समाजमा शान्ति र परस्पर विश्वासको भाव निर्माण हुन्छ । राष्ट्र राज्यहरूको उत्पतिका सिद्धान्तहरूले यसको राम्रो व्याख्या गरिसकेका छन् । कञ्चनपुरका गोविन्द गौतमको मृत्यु भारत सरकार र उसका अंगहरूमा नेपालको सिमानालाई स्वीकार गर्न, नेपालको सार्वभौम स्वतन्त्रताको सम्मान गर्न अझै हिच्किचाहट छ भन्ने प्रमाण हो ।

सिद्धान्तमा स्वीकार गरे पनि नेपाललाई हेप्ने र यताका नागरिकसँग हेलाहोचोको व्यवहार गर्ने परम्परा र संस्कृति नै त्यहाँ हुर्केको छ । त्यसलाई भारतीय सीमा सुरक्षा बलका सिपाहीहरूले पनि ग्रहण गरेको देखिन्छ । केही वर्षयता भइरहेका अनेक खालका हस्तक्षेपका घटनाले त्यही भन्छ । यही मानसिकता नेपालको संविधानलाई नोटमा लिने भारतीय वक्तव्य, गत वर्षको नाकाबन्दी र अहिले पुनर्बासको गोलीकाण्डमा अभिव्यक्त भएका हुन् भन्ने प्रस्टै छ । यो आपत्तिजनक व्यवहार हो र भत्र्सनायोग्य छ ।

तत्काल भारत सरकारले यो घटनाप्रतिको जिम्मेवारी लिँदै नेपाली जनतासमक्ष माफी माग्ने र दोषीमाथि कारबाही तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति दिएर मात्र यो चोटको उपचार हुन सक्छ । तर, भारतले नेपाल र नेपाली जनताप्रति एउटा सार्वभौमसत्तासम्पन्न देश र त्यहाँका जनताका रूपमा सम्मान गर्न नसिकुन्जेल यस्तो दुर्घटना भने दोहोरिरहन सक्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।