काभ्रेपलाञ्चोकमा दोस्रो किस्ता वितरण सुरु

बनेपा,फागुन २८ । काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण शुक्रबारदेखि सुरु भएको छ । प्रथम किस्ता वितरण भएको जिल्लाको रविओपी गाविसबाट काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले रविओपी गाविस–४ का होमनाथ कोइरालासहित करिब १० जनालाई दोस्रो किस्ताबापतको अनुदान सम्झौता हस्तान्तरण गरे । सो सम्झौतापछि उनीहरूले एक लाख ५० हजार रुपियाँ पाउनेछन् ।

सो अवसरमा बोल्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सिम्खडाले सरकारको राजस्व कसैले पनि दुरुपयोग गर्न नहुनेमा जोड दिँदै पुनःनिर्माणका लागि सरकारको उपस्थितिमात्रै भएको बताए । उनले भने–, “वास्तविक भूकम्पपीडितको लाभग्राहीमा नाम छुटेको छ भने पनि ढिलोचाँडो पाउनुहुन्छ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैडाले पुनःनिर्माण भएका घर भूकम्पप्रतिरोधी हुनुपर्ने उल्लेख गर्दै जिल्लामा दोस्रो किस्ताबापतको रकम धमाधम वितरण हुने बताए ।

उनले अनुदान रकम वितरणमा अदालती प्रक्रिया विस्थापन गरेर नयाँ प्रक्रिया सुरु हुने जानकारी दिँदै कतिपय स्थानबाट अनुदानको पैसा फिर्ता आउन लागेको बताए ।

सो गाविसमा ९७० जना भूकम्पपीडिको नाम लाभग्राही सूचीमा प्रकाशन भएको छ । तीमध्ये ९३० जनाले पहिलो किस्ताबापतको ५० हजार रुपियाँ पाएका छन् भने घर निर्माणका लागि एक सय ३० जनाले आवेदन दिएका छन् ।
दोस्रो किस्ताका लागि ४० जनाले मात्रै आवेदन दिएको बताइएको छ ।

जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अनुसार भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरण गर्न ९९ करोड ५८ लाख ५० हजार रुपियाँ विनियोजन भएको छ । सो रकमबाट दोस्रो किस्ताबापत एक लाख ५० हजार रुपियाँका दरले ६ हजार ६३९ जनाले मात्र रकम पाउँछन् ।

जिल्लामा लाभग्राहीको सूचीमा रहेका ६७ हजार ७११ जनाले प्रथम किस्ताबापतको ५० हजार रुपियाँ पाएका छन् ।