निर्वाचनले राष्ट्रिय समस्याको समाधान गर्न सक्दैनः अध्यक्ष किरण

‘निर्वाचन हुने अवस्था बनेको छैन’

सरकारले आउदो वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन गर्ने बताएको छ । मधेशी मोर्चा र अन्य राजनितिक दलहरुले निर्वाचनको वातावरण पहिले बनाउँनुपर्ने माग राख्दै सरकारको निर्णयको विरोध गर्दै आएका छन । माओवादी घटकहरुले पनि सरकारले घोषणा गरेको निर्वाचनको विरोध गर्दै त्यसलाई कुनैपनि हालतमा लागुहुन नदिने सम्मका अभिव्यक्तिहरु दिदै आएको सन्दर्भमा हरपल नेपालले नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणसँग निर्वाचनको आवश्यकता र राजनीतिक समस्याको समाधानका विकल्पबारे कुराकानी गरेको छ । हरपल संवादमा बोल्दै बैद्यले सरकारले तोकेको मितिमा निर्वाचन हुन नसक्ने दाबी गरेका छन । प्रस्तुत छ,अध्यक्ष किरणसँग गरिएको कुराकानी….

१) सरकारले स्थानीय निकायको निर्वाचन बैशाख ३१ मा घोषणा गरेको छ,सम्भव छ त ?

अहिलेको अवस्था जटिल छ । सरकारले तोकेको समयमा स्थानीय निकायको निर्वाचन हुन सक्दैन, निर्वाचनको वातावरण बन्न सकेको छैन । सरकारले जबरजस्त चुनाव गर्न खोजेमा दुर्घटना दोहोरीन सक्छन । वर्तमान स्थितिमा सरकारले घोषणा गरेको निर्वाचनको कार्यक्रमले जनताका समस्याहरुको समधान हुनको साटो समस्या थपिरहेको देखिन्छ । साथै विभिन्न पार्टीहरुले संविधान संशोधनको बिषयमा उठाएको कुरा र अहिले सप्तरीमा घटेको घटनाले निर्वाचन हुन सक्ने स्थिति देखिदैन । हामीले निर्वाचनको वातावरण निमार्ण हुन नसकेको भनिरहेका छौ । यदि निर्वाचन भए पनि त्यसबाट राष्ट्रिय समस्याको समाधान हुन सक्दैन ।

२) निर्वाचनबारे सरकारले गरेको निर्णयमा क्रान्तिकारी माओवादीको धारणा के ? समर्थन वा विरोध ?

सत्तामै रहेका दलहरुबीच पनि संविधान संशोधनको विषयमा कुराहरु मिलेको अवस्था छैन । सरकारले प्रतिपक्ष दल र मधेशवादी दलहरुका छुट्टा छुट्टै माग र अडानको समाधान नगरि निर्वाचन सम्भव पनि हुदैन । फेरी अर्को तिर हामीले विगतदेखिनै संसदीय व्यवस्थाले मुलुकमा निकास दिन नसक्ने भन्दै आएका छौ, तसर्थ चुनाव गराएपनि जनताको स्तरमा त्यसको औचित्य देखिदैन । निर्वाचन सम्बन्धि सवाल राजनीतिक कार्य विधिको सवाल हो । तसर्थ माओवादीले निर्वाचनको वहिष्कार मात्र गर्नुपर्छ भन्ने प्रश्न पनि आउँदैन, आवश्यकता अनुसार यसलाई उपयोग र वहिष्कार गर्न सकिन्छ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ । परिस्थितिको ठोस मूल्याङकन गरेर निर्वाचनमा हाम्रो सहभागिता हुने वा नहुने विषयको निर्णय गर्ने भनेका छौ ।

३) तपाईले यो कुरा गर्दैगर्दा जनता भ्रमित भएका छन,स्पष्ट पारिदिनुस्,‘परिस्थितिको ठोस मूल्याङकन परिस्थिति अनुसार गर्ने’ यो भन्न खोजेको के हो ?

हामीले भन्न खोजेको कुरा स्पष्ट छ,हामीले विज्ञप्ती निकालेपछि सप्तरीमा जुन घटना घटेको छ, त्यसले स्थिति झन जटिल बनाएको छ । एका तिर बाट चुनाव जसरी पनि हुनु पर्छ भन्ने कुरा आएको छ भने अर्को तर्फबाट चुनाव रोकिनु पर्छ भनिरहेका छन । यस्तो खालको द्धन्द्ध चलिरहेको अवस्था छ । अब यो बारेमा हाम्रो निर्वाचको उपयोग गर्ने वा वहिष्कारको निति अबलंम्बन गर्ने भन्ने विषयमा छिट्टै बैठक बसेर आधिकारीक रुपमा निर्णय गर्ने छौँ ।

४) अधिकाशं राजनीतिक दलहरुले निर्वाचनमा समर्थन वा विरोधको निति तय गरेका छन,तर तपाईहरुले ठोस निर्णय गरेको देखिएन नी ? तपाईहरु वर्तमान सरकारसँग केही तालमेल मिलाउँदै हुनुहुन्छ भनेको पनि सुनिन्छ,कतिको सत्य हो ? जुन सरकारसँग तालमेलको कुरा छ,यो सत्य होइन । हाम्रो अलग पार्टी भएको हुँदा सोच,धारणा,विचार,एजेन्डा सबै माओवादी केन्द्रको भन्दा फरक छ अनि कसरी तालमेलको कुरा हुनसक्छ ?

परिस्थितिको ठोस मुल्याङकन परिस्थिति अनुसार गर्ने भनेको यसलाई उपयोग र वहिष्कार जे पनि गर्न सकिन्छ भन्ने नै हो । यो चुनाव र संविधानले जनताका समस्या समाधान गर्दैनन,हामीले के भनेका छौ भने संसदीय व्यवस्था खारेज गरेर संघिय गणतन्त्र स्थापना हुनु पर्छ । तत्कालको विषयमा ठोस के गर्ने भन्ने कुरा त कार्यनितिको सवाल हो । यसलाई उपयोग र वहिष्कार जे पनि गर्न सकिन्छ,उपयोग ठिक हो भनेर गर्ने होइन ,हाम्रा अन्तराष्ट्रिय नेताहरुको भनाई छ,आवश्यक परेको खण्डमा ‘सुँगुरको खोर भित्र पनि पस्नु पर्छ’ । हामीले पञ्चायत र वहुदली व्यवस्थाको समयमा भाग पनि लिएका थियौ र वहिष्कार पनि गरेका थियौँ । त्यस्तै अहिलेको अवस्थामा पनि आवश्यकता अनुसार निर्णय गर्ने हामीले बताएका छौ ।


तस्बिरः अध्यक्ष किरणसँग हरपल नेपालले गरेको संवाद ।

५) तत्कालीन पार्टीबाट विप्लव अलग भएपछि तपाईहरुले एक पछि अर्को समस्या झेल्दै आएको देखिन्छ,कहिले गुटवाद त कहिले संगठनात्मक गतिशिलतामा समस्या । अहिले पनि पार्टीको संगठनात्मक अवस्था पुरानै गतिमा देखिन्छ, यो विषयमा के सोच्नु भएको छ ?

हामीले जुन दश बर्षको जनयुद्धमा संचालन गरेका थियौ, त्यसपछिको वातावरणमा केही राजनीतिक कार्यदिशाको विषयमा हाम्रा मतहरु बाझिँए र सिंगो माओवादी बिचमा बिभाजीत भयो । यसरी बिभाजीत हुँदा असर त पर्ने नै भयो । हाम्रो पोलिसि अलि फरक छ, र उनले ‘तातै खाऔँ,जल्दै खाऔँ’ भने जसरी,कुन बेला सत्ताँमा पुग्ने हो भनेर हतार गरे । हामीले ठोस परिस्थिति हेर्दैँ कसरी रुपान्तरणको प्रक्रियामा जाने हो भनेर लामो हिसावले राजनीति गरिरहेका छौँ ।

हामी तपाईले भने जस्तै विभिन्न मोडमा विभिन्न खालको अवस्थालाई सामना गर्र्दै अगाडि बढिराखेका छौ । गुटगतहरुमा पार्टीलाई क्षति पुर्याउने तत्वहरुको समस्या पनि हामीले बेहोर्यौ,हामीले ती सबै कुराबाट पाठ सिकेका छौ । अब क्रान्तिकारी माओवादी बलियो संगठन निर्माण गर्दै देशको समग्र राजनीतिको नेतृत्व गर्ने पार्टी बन्दै गएको छ, जनताले हामीमाथि आशा र भरोसा गरिराखेको अवस्था हो । हामी संगठन निर्माणमा समग्र चिजहरुलाई समेट्दै समस्याको समाधान कसरी गर्ने हो भनेर गम्भिर रुपमा लागिरहेका छौँ ।

६) तपाईहरु संसदीय व्यवस्थाले मुलुकको निकास दिन सक्दैन पनि भन्नुहुन्छ अनि त्यसको विरोध गरेको अवस्था पनि देखिन्न, वास्तविक कुरा के हो ?

तत्कालिन समस्याको समाधान सडकमा आएर हुदैन । हामीले को मान्छेले के गर्दै छन भन्ने कुरा स्पष्ट बुझेका छौँ । क्रान्ति भन्ने खालको कुरा पुरा गर्नका लागि लामो तयारी र शक्तिको सञ्चय गर्नु पर्दछ । त्यसको अभावमा त्यतिकै उर्पिmएर केही हुनेवाला छैन । त्यसैले हामी एउटा परिपक्क विचार सहितको राजनीति गरिराखेका छौ । क्रान्ति गर्नका लागि वस्तुगत र आत्मगतरुपमा तयार पनि हुनु पर्दछ । अहिले हाम्रो काम परिस्थितिको सहि मूल्याङन गर्दै त्यसको प्रयोग गर्ने हो । तसर्थ हामी ठिक लाइन मै छौ ।

७) मधेशी मोर्चा,सरकार र एमालेबीच संविधान संशोधनको मुद्दालाई लिएर जुन खालको द्धन्द्ध भएको छ,यस बिषयमा तपाई के भन्नु हुन्छ ?

उहाँहरु त्यही सत्ताँ र व्यवस्थालाई बचाउने पक्षमा हुनुहुन्छ । नेपाली कागे्रंस,एमाले र माओवादी केन्द्रको कुरा गर्दा उहाँहरु सबै संसदीय व्यवस्था भन्दा बाहिर हुनुहुन्न । संविधान संशोधन भनेर उहाँहरुले जुन कुरालाई ल्याउनु भएको छ,त्यो संशोधन गरेर मुलुकको सबै समस्याको समाधान हुदैन । त्यस कारण हामीले प्रष्ट भनेका छौँ कि, पुरानो सरकार र व्यवस्थाका विरुद्ध नयाँ सरकार र नयाँ व्यवस्था कायम गर्ने भन्ने हाम्रो सोचाइ छ । जनताका समस्याहरु गम्भिर छन त्यो सबैले भन्छन,कतिले जनता भड्काउन भन्छन त कतिले साँचो हिसाबले भन्छन । तर हामी जनतालाई धोका नदिने र आमूल परिवर्तनको लागि क्रान्तिको मार्गमै छौ, यो नै सबै समस्याको समाधान हो ।

८) हिजो सँगै क्रान्तिमा होमिएका शक्तिहरु आज विभाजित छन,यतिबेला हिजोका क्रान्तिका नायक भनिने प्रचण्ड अहिले प्रधानमन्त्री बनेका छन, तपाईहरु क्रान्ति गर्ने भन्नुहुन्छ, के त्यो तपाईहरुबाट मात्र सम्भव छ त ?

हामीले पहिले सँगै क्रान्ति गरेका साथीहरु बिचमा आएर विचलित हुनु भो र सत्ताँमा जानु भो । उहाँहरु पुरानो सत्ताँमा बस्न थाल्नु भयो तर हामीले त्यसलाई स्विकार्न सकेनौ र अलग बाटोमा लागेका छौ,त्यो कुरा सत्य हो । अर्को कुरा अबको क्रान्ति निर्णयक र अन्तिम क्रान्ति हुनेमा हामी विश्वस्त छौ । अब क्रान्ति भयो भने सम्पुर्ण संसदीय व्यवस्थालाई बढारेर लैजान्छ । जनताको हक हितका लागि क्रान्ति हुन्छ । राम्रो र भव्य क्रान्ति हुन्छ । यसको लागि तयारी गर्नु पर्छ समय लाग्छ । त्यो हाम्रै नेतृत्वमा हुन्छ ।

९) तपाईले भनेको जस्तो क्रान्ति सजिलो पनि हुन्न होला,के क्रान्तिकारी माओवादी एक्लैले त्यो कार्यभार सम्हाल्न सक्छ ?

क्रान्तिको तयारीको अवस्था हो अहिले,हामी सबै खाले तयारी गर्नका लागि जुटिराखेका छौ । अर्को कुरा, त्यतिबेला हामीले जनयुद्ध एक्लैले सुरु गरेका थियौ । आफ्नो संगठन बलियो भएपछि पार्टीको रणनीतिक कार्यदिशाको प्रयोग गर्दै क्रान्ति सफल पार्न सकिन्छ,हामी प्रगतिशिल,क्रान्तिकारी शक्तिहरु सँग पनि यो विषयमा छलफल गरिरहेका छौ ।
सरकारलाई स्विकार गर्ने माओवादी शक्तिहरु एकातर्पm र क्रान्तिको पक्षमा रहनेहरु अर्कोतर्पm छुट्टिन्छन,त्यो परिस्थिती समयले आफै ल्याउँछ । हामीले अहिले पहिलो तयारी भनेको आन्तरिक संगठनात्मक अवस्थालाई बलियो बनाउने भनेका छौ । तर क्रान्तिको लागि सबैलाई गोलवन्द गर्नु पर्छ त्यो कुरा निश्चित हो ।

१०) गोलबद्ध कसरी हुन्छ त ? तपाईहरुको कार्यदिशामा सबै आउलान त ?

देशका समस्या र जनताका समस्याहरुमा विचार मिल्नेहरु एकताबद्ध भएर लाग्छन । जुन अन्तर विरोधहरु छन्,त्यो मिल्ने किसिमको स्थिति देखिदैन । राजनीति भन्ने कुरा एक नासको रहदैन । त्यो विषय विकसित र परिवर्तन हुदै जान्छ ।

११) क्रान्तिकारी माओवादी कहिले विप्लवसँग नजिक त कहिले माओवादी केन्द्रसँग नजिक भएको देखिन्छ, खासमा तपाईहरु कतापट्टि नजिक हुने कोसिसमा हुनुहुन्छ ?

(अलि आक्रोशमा आएर…) कुरा त्यस्तो होइन,बिप्लव जी पनि सत्ताँ साझेदारी भनेर पुरानै सत्ताँको साझेदारी बन्नु भएको छ । माओवादी केन्द्रका साथिहरु त्यहि सत्ताँलाई जोगाउन लाग्नु भएको छ ,यो प्रष्टै छ । हामी कसैको नजिक र टाढा छैनौँ । हामी आफ्नो निति अनुसार अगाडी बढेकाछौँ ।

१२) स्थानीय निकायको निर्वाचन सम्भव छ वा छैन ? तपाईलाई अब के हुन्छ जस्तो लाग्छ ?

सबै परिस्थिती मिलाएर र सबैलाई समेटेर जान सकेपछि सम्भव छ । बिशेष गरी मधेशी मोर्चालाई कसरी लैजान सक्छ,त्यसले पनि यसमा केहि अर्थ राख्ने देखिन्छ । मोर्चाले मागका विषयहरु अहिले एकदम बिवादित भएको हुदा चुनाव हुने स्थिति देखिदैन ।

१३) परिस्थिती बद्लियो र चुनावको मिति परिवर्तन भएमा तपाईहरु चुनावमा जानुहुन्छ ?

हामी चुनावमा जादैनौँ र चुनाव भन्ने खालको कुराबाट समस्याको समाधान हुदैँन । हामी चुनाव मुखी होइनौँ । सत्तामा पनि जानेवाला छैनौँ । आवश्यकता परेको खण्डमा चुनावको उपयोग भने गर्न सकिन्छ भन्ने हाम्रो पार्टीको धारणा हो ।