बैद्य माओवादी निकटका पत्रकारद्धारा महासंघमा तालाबन्दीः कार्यकर्ताको भर्ति केन्द्र बनाएको आरोप

ठूला संगठनले लादेको सिन्डिकेट अन्त्य गर्न माग

काठमाडौं,फागुन २७ । नेकपा क्रान्तिकारी माओवादी निकटका पत्रकारहरुले नयाँ सदस्यता वितरणको क्रममा केहि पत्रकार संगठनहरुले श्रमजीवि पत्रकारको चाहना विपरित महासंघलाई आफ्नो पार्टीका कार्यकर्ताको भर्ति केन्द्र बनाएको आरोप लगाउदै पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत सहित आज महासंको केन्द्रीय कार्यालयमा पुगेका बैद्य माओवादी निकटका पत्रकारहरुले महासंघको सदस्यता सिफारिस प्रकृयामा ठूला भनिएका संगठनहरुले सिन्डिकेट लदेको भन्दै विरोध स्वरुप अनिश्चितकालिन तालाबन्दी गरेका हुन ।

तस्बिर–(आयुष न्यौपाने) क्रान्तिकारी पत्रकार महासंघका नेताहरु पत्रकार महासंघको मूल ढोकामा तालाबन्दी गर्दै

क्रान्तिकारी पत्रकार महासंघद्धारा जारी गरिएको प्रेस नोटमा भनिएको छ–‘नेपाल पत्रकार महासंघ आम श्रमजीवि पत्रकारहरुको साझाँ संगठन हो,तर अमूक संगठनहरुको सिन्डिकेटको राजनीतिले महासंघलाई केहि चल्तापूर्जा र खाइपल्लेकाहरुको नामले बद्नाम गरिएको छ । अहिले महासंघ कब्जा गर्न खाइपल्केकाहरुबीच होडबाजि चलेको छ । अन्य पार्टी र स्वतन्त्र पत्रकारलाई महासंघमा अघोषितरुपले निषेध गरिएको छ ।’

क्रान्तिकारी पत्रकार महासंघले पत्रकार महासंघको विधान बमोजिम सदस्यता लिन योग्यता पुगेकालाई समेत सदस्यता लिनबाट बन्चित गरिएको भन्दै त्यस्ता प्रकारका गतिविधि तत्काल रोक्नका लागि जोडदार माग गरेको जनाएको छ ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले हरपल नेपालसँग कुरागर्दै भने–‘आफु अनुकुल सदस्यताको मापडण्ड तोक्ने,समय सीमा तोक्ने र भागबन्डको आधारमा नयाँ सदस्यको सिफारिस गर्ने कार्यको विरोध स्वरुप महासंघको कार्यालयमा तालाबन्दी गरिएको हो । हामी महासंघलाई स्वतन्त्र र विधान बमोजिम,सर्व पक्षिय र सर्वदलिय अधिकार सम्पन्न छानबिन आयोग बनाएर अगाडि बढ्न आग्रह गर्दछौ ।’

पत्रकार महासंघ कार्यालयका कर्मचारी खेम चापागाईले पदाधिकारीहरु कोही नभएको समयमा ताला लगाएको बताए । उनले भने–‘मैले उहाँहरु तालाबन्दी गर्न आएको बताएपछि महासंघका अध्यक्ष महेन्द्र बिष्टलाई फोन गरे र विषयको जानकारी गराए । उहाँले ठिकै छ, लगाउन दिनुस,भोलि पर्सि सार्वजनिक बिदा छ । पछिको कुरा हेर्दै जाउँला भन्नु भो । उहाँहरुले महासंघको मूल ढोकामा ताल्चा लगाएर आफ्नो प्रेस नोट पनि टास्नु भएको छ ।’

क्रान्तिकारी पत्रकार महासंघले यस अघि पनि पत्रकार महासंघका अध्यक्षलाई आफ्नो संगठनको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँदै गैर पत्रकारलाई सिफारिस गर्ने र सदस्यतामा सिन्डिकेट लगाउने गरिएमा महासंघको विकल्प खोज्ने घोषणा गरेको थियो ।