भोलि नेपाल बन्दः कञ्चनपुरमा गोली हान्ने एसएसबीका जवानलाई कारवाहीको माग

गोली हान्ने एसएसबीलाई कारवाही नगरे भारतीय दूतावास हटाउने चेतावनी

काठमाडौं,फागुन २७ । कञ्चनपुरमा नेपाली नागरिकलाई गोली हानेर हत्या गर्ने भारतीय सुरक्षा बलका एसएसबीका जवानलाई कारवाही गरिनुपर्ने माग राख्दै भोलि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकदिने नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले शुक्रबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो घोषणा गरेका हुन ।

प्रकाण्डले कञ्चनपुरमा गोली हान्ने एसएसबीका जवानलाई कारवाही नगरिए काठमाण्डौंको लैनचौरमा रहेको भारतीय दूतावास समेत नेपालमा रहने कि नरहने भन्ने प्रश्न अगाडि आउने दाबी गरे । उनले कञ्चनपुरमा भएको घटनाले भारतको हस्तक्षेपकारी नितिलाई उदाङ्गो पारेको समेत बताए ।

उनले नेपाली जनताको सहनशीलतालाई कमजोरी नठान्न भारतीय सरकारलाई चेतावनी समेत दिदै भने–‘नेपालीहरु जे गरेपनि सहन्छन भन्ने नसोचियोस् । यो देशका कथित नेताहरु भारतको इसारामा चलेका हुन सक्छन तर देशको रक्षाको लागि बलि चढाउने नेपालीहरु पनि यहाँ रहेका छन, हामीलाई कसैको हस्तक्षेप स्विकार्य छैन ।’

गत बिहीबार भारतीय सुरक्षा बलका एसएसबीले पेस्तोलबाट चलाएको गोलीलागी कन्चनपुरका गोविन्द गौतमको मृत्यु भएको थियो । त्यहाँ कल्भर्ट निर्माणको बिषयमा नेपाली र भारतीय पक्षबिच भएको बिबादले उग्र रूप लिएपछि एसएसबीले नेपालमै आएर त्यस्तो घटना गरेको हो ।