मन्त्रिपरिषद् पुन.विस्तारः कमल थापा उपप्रधानमन्त्री

काठमाडौं,फागुन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनः विस्तार गरेका छन् । माओवादी केन्द्र र कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाउँदै राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवं स्थानीय विकास र दिलनाथ गिरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट जीवनबहादुर शाही र माओवादी केन्द्रबाट हितराज पाण्डेलाई फिर्ता बोलाउँदै राप्रपाका नेतालाई सरकारमा सामेल गरिएको हो ।

४३ सदस्यीय मन्त्रिपरिषद्मा बिहीबार तीनजना थपिएपछि ४६ सदस्यीय पुगेको छ । यसमा प्रधानमन्त्रीसहित ३१ मन्त्री र १५ राज्यमन्त्री छन् । नवनियुक्त उपप्रधानमन्त्री थापा र पर्यटनमन्त्री गिरीले बिहीबार साँझ नै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए । प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ नै पर्यटन राज्यमन्त्रीमा राप्रपाकै अर्का नेता पर्शुराम तामाङलाई शपथ गराए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।