जाजरकोटमा बस पल्टँदा २६ को मृत्यु, ३५ घाइते

काठमाडौँ,फागुन २७ । जाजरकोट सदरमुकामबाट साल्मा गाविस खारातर्फ जाँदै गरेको बस शुक्रबार सडकबाट खोलामा खसेको छ । दुर्घटनामा कम्तीमा २६ यात्रुको मृत्यु भएको छ भने ३५ यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार ना.३ख २२७९ नम्बरको बस सदरमुकामको शान्तिचौतारा बसपार्कबाट ४३ यात्रु लिएर गुडेको थियो । तर, बाटोमा यात्रु राख्दै अगाडि बढेको बस भेरीमालिका नगरपालिका–४ पासागाडको घुमाउरो सडकबाट भन्डै चार सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटना अपराह्न करिब ४ बजे भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेको उद्धारमा स्थानीय बासिन्दासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए । बिहीबार वाइसिएलको जिल्ला सम्मेलनसमेत थियो । तर, दुर्घटनाको खबरपछि सम्मेलन स्थगित गरेर झन्डै तीन सय प्रतिनिधि उद्धारमा खटिएका थिए ।

घाइतेको उद्धार गरी एम्बुलेन्ससहित निजी सवारीसाधनमा रुकुमको चौरजहारी पुर्या‍इएको थियो । घटनास्थलबाट चौरझहारी सवारीसाधनबाट आधा घन्टाको दूरीमा पर्छ । चौरजहारी विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेलाई काठमाडौं लगिएको छ । करिब २७ जना घाइतेलाई काठमाडौं लगिएको छ ।

जाजरकोट प्रहरी प्रमुख डिएसपी भावेश रिमालका अनुसार साँघुरो र घुमाउरो बाटोमा चालकको लापरबाहीले बस दुर्घटना भएको बताए । क्षमताभन्दा बढी यात्रु बोकेकाले पनि दुर्घटना भएको उनको भनाइ छ । बस दुर्घटना भएको ठाउँको सडक साँघुरोसमेत छ । यसअघि जाजरकोटमा ४ मंसिर ०७१ मा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु भएको थियो ।
बिस्तारै चलाउन भन्दा पनि चालकले मानेनन्

खलङ्गा बसपार्कबाट एउटै सिटमा तीनजनासम्म राखेर बस गुडाइएको थियो । यात्रुले यस्तो के गरेको भन्दा सहचालकले प्रहरीलाई नभन्नु, नभए लैजान्नौँ भन्दै हप्काएका थिए । बसपार्कबाट ३ मिनेट पर खोलामा पुगेपछि थप १२ जना यात्रु गाडीमा चढाए । बस खचाखच भयो । चालकले बस हुइँकाइरहेका थिए । हामीले बिस्तारै भन्दा मानेनन् । २० मिनेटपछि बस सडकको मोडमा पुग्यो । मोड्नुपर्ने थियो, तर सीधै पर्खालमा ठोक्किएर भीरमा गयो । चालकले रक्सी खाएजस्तो देखिन्थ्यो ।

काभ्रे दुर्घटनापछि बनेको नियमावली कार्यान्वयन भएन

काभ्रेको कोसीपारि गत वर्ष ३० साउनमा बस दुर्घटना भएपछि सरकारले सार्वजनिक यातायातलाई नियम पालनामा कडाइ गर्यो‍ । एक महिनामै सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी सजाय बढाइयो । तर, सरकारको कडाइ एक महिनाभन्दा बढी टिकेन ।

सार्वजनिक सवारीमा यातायात व्यवसायीको दादागिरी पहिलेजस्तै भएको छ । ग्रामीण सडकहरूमा यात्रु बढी राखेर सार्वजनिक सवारीसाधन सञ्चालन भइरहेका छन् । यसको परिणाम बिहीबार जाजरकोटमा देखिएको छ । जाजरकोट दुर्घटनाको प्रमुख कारण क्षमताभन्दा धेरै यात्रु बोक्नु रहेको प्रहरीले जनाएको छ ।

काभ्रेको कोसीपारि गत वर्ष भएको बस दुर्घटनामा २७ जनाको ज्यान गएको थियो । सरकारबाट रुट–परमिट नै नलिई क्षमताभन्दा दोब्बर यात्रु राखेर चलाउँदा सो दुर्घटना भएको थियो । त्यसपछि करिब दुई महिना सो रुटमा परमिटविनाका बस चलाउन रोकियो । अहिले विनारुट–परमिट सोही सडक खण्डमा धेरै यात्रु राखेर बस संचालन भइरहेको छ ।

काभ्रेमा मात्र होइन, देशभरिकै ग्रामीण सडकमा यातायात व्यवसायीको दादागिरी उस्तै छ । यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले पनि यसमा चासो दिएको छैन । यातायात व्यवसायीकै दबाबमा नयाँ प्रावधानअनुसार कडाइ नगरिएको स्रोत बताउँछ ।

सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी सजाय बढाएको थियो । सिट संख्याभन्दा धेरै यात्रु राखेमा, यात्रुबाहक बसमा अन्य सामान राखेमा, रुट इजाजत नलिई सवारी चलाएमा ६ महिनासम्म लाइसेन्स निलम्बन र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान राखिएको थियो । तर, यी प्रावधान कार्यान्वयनमा कडाइ नगरिएकाले यातायात क्षेत्रमा व्यवसायीको दादागिरी बढेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले नयाँ नियमावली कार्यान्वयनमा कमजोरी भएको स्विकारे । ‘सहरी क्षेत्रमा कडाइ गरिएको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा भने अनुगमनकर्ताहरूको अभावमा कार्यान्वयन हुन सकेको छैन ।’ यातायात व्यवसायीहरूको मनोमानीका कारण समस्या भएको उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।