सरकारले तोकेको मितिमा स्थानीय निकायको निर्वाचन हुने सम्भावना छैनः अध्यक्ष किरण

परिस्थितिको मुल्याङन गरेर निर्वाचनबारे धारणा बनाउने

काठमाडौं,फागुन २६ । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ले सरकारले घोषणा गरेको मितिमा स्थानीय निकायको निर्वाचन हुन नसक्ने दाबी गरेका छन । अध्यक्ष किरणले बैखाख ३१ गतेका लागि निर्वाचनको वातावरण बन्न नसकेको र सरकारले जबरजस्त चुनाव गराउन खोजेमा दुर्घटनाहरु दोहोरिन सक्ने सम्भावना पछिल्लो चरणमा बढेर गएको बताए ।

अध्यक्ष किरणले आज हरपल नेपाल डटकमले आयोजना गरेको ‘हरपल संवाद’ कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन । उनले सरकारले तोकेको मितिमा निर्वाचन हुने वातावरण टर्दै गएको तर्क प्रस्तुत गर्दै कुनै पनि हालतमा उक्त मितिमा निर्वाच हुन नसक्ने ठोकुवा गरेका छन ।

अध्यक्ष किरणले भने–‘तराईमा आन्दोलन भैराखेको छ,सत्तामा रहेका दलहरुनै आपसमा विभाजित छन । हामीले त पहिले देखिनै संसदीय व्यवस्थाको खारेजी भनिरहेका छौ,यतिबेला सरकारले गर्ने भनेको निर्वाचनको अर्थ र आवश्यकता पनि हामिले देखेका छैनौ । जनताको सक्रियता बिना सरकारले निर्वाचन कसरी गर्छ ? हामीले त्यो सम्भव देखिराखेका छैनौ ।’

निर्वाचन हुने अवस्था आएमा तपाईको पार्टी निर्वाचनमा सहभागी हुन्छ कि हुदैन, भन्ने पत्रकारहरुको प्रश्नमा उनले जवाफ दिदै भने–‘हामीले यो विषयमा यसअघि पनि प्रेस विज्ञीती मार्फत जानकारी गराएका थियौ । हामीले निर्वाचनको लागि परिस्थिती हेरेर ठोस निर्णय लिने बताएका छौ । तर अहिले सम्मको अवस्थालाई हेर्दा निर्वाचनको वातावरण बन्न सकेको देखिन्न ।’

उनले आफ्नो पार्टीले निर्वाचनलाई उपयोग वा वहिस्कार दुबै गर्न सक्ने बताउदै निर्वाचनको विषयमा पहिले पर्रिस्थितीको ठोस विश्लेषण आवश्यक भएको बताए । परिस्थितीको मूल्याङन गरेर पार्टी चुनावमा समावेश हुन समेत सक्ने तर्फ उनले संकेत गरेका छन ।