निर्वाचन नसार्न एमालेको ध्यानाकर्षण

काठमाडौं,फागुन २६। प्रमुख प्रतिपक्षी एमालेले सप्तरीको राजविराज घटनालाई आधार मानेर स्थानीय तहको निर्वाचन मिति नसार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । निर्वाचन सारिए आफूहरूलाई अमान्य हुने पनि एमालेको चेतावनी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताको टोलीले सप्तरी घटनासहित निर्वाचनको विषयमा छलफल गरेको छ । बालुवाटारमा भएको बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने–‘निर्वाचन तोकिएकै समयमा हुनुपर्छ, यताउति गरिए स्वीकार्य छैन । समयमै सम्पन्न गराउने कुरामा मात्रै हाम्रो समर्थन रहन्छ ।’ एमाले नेताहरूसँगको छलफलअघि प्रधानमन्त्री प्रचण्डलाई मधेसी मोर्चाका नेताहरूले सात दिनभित्र निर्वाचन मिति स्थगित गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका थिए ।

प्रदेश नं. २ मा फेरि अभियान

एमालेले प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा पुनः अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले जिल्लास्तरीय सभाहरू आयोजना गर्ने निर्णय गरेको हो । ‘प्रदेश नम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरिएको छ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नम्बर २ का जिल्लामा जिल्लास्तरीय सभा पनि आयोजना गरिनेछन् ।’ कार्यक्रमको कार्यतालिका प्रदेशको पार्टी नेतृत्वसँगको परामर्शमा तय गरिने एमालेले जनाएको छ । हेटौँडाबाट भने शुक्रबारदेखि अभियान सञ्चालन हुनेछ ।

बालुवाटार बैठकमा कसले के भने

ओलीले सुरुमै भने–अभियान सुचारु हुन्छ, सुरक्षा प्रबन्ध होस्

हेटौँडाबाट मेची–महाकाली अभियान सुचारु हुन्छ । शान्तिपूर्ण रूपमा जनतामा गएर आफ्ना कुरा राख्न पाउने प्रजातान्त्रिक अधिकारको रक्षा गर्ने जिम्मा सरकारको हो, त्यसमा अलिकति तलमाथि भए सरकार नै जिम्मेवार हुन्छ । राम्रो सुरक्षा प्रबन्ध होस्, हामी शान्तिपूर्ण रूपमा संयमतापूर्वक जनताको बीचमा जान्छौँ ।

प्रधानमन्त्रीको जवाफ सुरक्षा दिन्छौँ, तर अभियान पुनर्विचार गर्दा उत्तम

मोर्चाले सात दिनको अल्टिमेटम दिएर ज्ञापनपत्र बुझाएको छ । यो अवस्थामा परिस्थिति भड्किन नदिन सरकारले पनि मोर्चासँग संवाद बढाउने प्रयास गरिरहेको छ । तपाईंहरूले फेरि अभियान सुचारु गर्दा सकारात्मक वातावरण बन्दैन । अभियानमाथि पुनर्विचार गरिदिँदा धेरै राम्रो हुन्थ्यो ।

ओलीको प्रतिप्रश्न कसैलाई झोँक चल्दैमा निषेध गर्न पाइन्छ

कसैलाई झोँक चल्यो, रहर लाग्यो भन्दैमा तिमी यो ठाउँमा आउन पाइँदैन भन्न पाइन्छ त्यही कुराको छिनोफानो गर्न अभियान सुचारु गर्छौँ । हाम्रो अभियान शान्तिपूर्ण हुन्छ । त्यत्रो पेट्रोल बम र ढुंगा प्रहार हुँदा पनि संयमता प्रदर्शन गर्यौँ‍ । हामी त्यस्तै कार्यक्रम गर्छौैँ, तपाईंहरूले सुरक्षाको प्रबन्ध गर्नुपर्छ ।

देउवाको टिप्पणी राजविराज घटनामा सरकारको पनि कमजोरी

राजविराजमा जे भयो त्यसमा सरकारको पनि कमजोरी छ । कुनै पनि दलले शान्तिपूर्ण रूपमा गतिविधि गर्न पाउने लोकतान्त्रिक अधिकारको रक्षा हुनुपर्ने कुरामा कांग्रेस प्रतिबद्ध छ । उक्त दुःखद घटनाको छानबिन हुनुपर्छ । तर, निर्वाचन गराउने वातावरण बनाउन एमालेले सहयोग गर्नुपर्छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।