नेपाल प्रेस सोसाइटीले प्रथम स्थापना दिवस मनायो

४३ जिल्लाहरुमा जिल्ला समिति गठन गरिएको

काठमाडौं,फागुन २५ । नयाँ शक्ति पार्टीनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस सोसाइटीले प्रथम स्थापना दिवस मनाएको छ । बुधबार काठमाडौंमा सोसाइटीले चियापान कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । गत वर्ष २०७२ फागुन २५ गते सोसाइटीको स्थापना गरिएको थियो । संगठन स्थापना भएको एक वर्षमै देशैभरी संगठनको सम्पर्क स्थापना भएको र ४३ जिल्लाहरुमा जिल्ला समिति गठन गरिसकिएको सोसाइटीका संयोजक रुद्र भट्टले जानकारी दिए ।

बदलिएको राजनीतिक व्यवस्थासँगै विकास र समृद्धिको लक्ष्यसहितको पत्रकारिता गर्ने उद्देश्य राखेर नेपाल प्रेस सोसाइटी स्थापना भएको हो । स्थापना दिवसलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सूचनाको हक महत्वपूर्ण भएकाले यतिबेला सबै जनता सुसूचित हुनु पाउनु पर्ने बताए । उनले पत्रकारहरुले सत्य, तथ्यमा आधारित भएर सूचना प्रवाह गर्नुपर्ने र त्यसलाई विकास र समृद्धिमा जोडनुपर्ने कुरामा समेत जोड दिए।

‘हाम्रोजस्तो देशमा पत्रकारतामार्फत भ्रमित कुरा बढी गरिने देखिएको छ, त्यसलाई रोकेर सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुहोस्’ संयोजक भट्टराईले पत्रकारहरुलाई सम्बोधन गर्दै भने–नेपाल प्रेस सोसाइटीले त्यही दिशामा आफूलाई अगाडि बढाउने विश्वास व्यक्त गर्दछु ।’

त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संगठन निर्माण भएको एक वर्ष पुगेको उपलक्ष्यमा महासंघको तर्फबाट शुभकामना व्यक्त गर्दै नेपालजस्तो देशमा पत्रकारिता राजनीतिक परिवर्तन र आन्दोलनमा पनि जोडिने कुरा बताए । उनले नेपालको परिवर्तनमा पत्रकारहरुको सबैभन्दा ठूलो भूमिका रहेको उल्लेख गर्दै अबको पत्रकारिता आरोप, प्रत्यारोपबाट मुक्त भएर विकास र समृद्धिकेन्द्रीत हुनुपर्ने बताउँदै नेपाल प्रेस सोसाइटीले अगाडि सारेको नारा सान्दर्भिक रहेको टिप्पणी गरे ।

त्यसैगरी कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नयाँ शक्ति निकट पत्रकारहरुको संगठन नेपाल प्रेस सोसाइटी स्थापना भएर विकास र समृद्धिसहितको पत्रकारिता गर्नु सुखद पक्ष रहेको भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रेस सोसाइटीका संयोजक रुद्र भट्टले विगतमा भएजस्तो पत्रकारिताले अब विकास र समृद्धि हुन नसक्ने बताउँदै विकास र समृद्धिसहितको पत्रकारितामा जोड दिनुपर्ने धारणा व्यक्त गर्दै संगठनका तर्फबाट एकै ठाउँमा बसेर चियापान कार्यक्रममा उपस्थित पत्रकारहरुलाई कार्यक्रममा उपस्थित भएकोमा स्वागत तथा शुभकामना व्यक्त गरे ।

स्थापना दिवसको अवसरमा आयोजित चियापान कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल, अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमी, आंगिक संगठन प्रमुख कुमार पौडेल, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सोसाइटीमा आवद्ध पत्रकार एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।