सप्तरी घटनामाथि छानबिनको माग

काठमाडौँ,फागुन २५ । सप्तरीमा भएको घटना सुनियोजित रुपमा भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निष्पक्ष रुपमा छानबिन गर्न सरकारसँग माग गरेको छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेकपा (एमाले)का सचिव भीम आचार्यले शान्ति पूर्णरुपमा सभा सम्मेलन गर्न पाउने अधिकारको उल्लङ्घन गर्नु लोकतन्त्र विपरीत बताए ।फागुन २७ गते हेटौँडाबाट पार्टीको अभियानलाई निरन्तरता दिइने पनि उनले जानकारी दिए ।

आफ्नो पार्टीका बारेमा मधेसी जनतामा रहेका भ्रम चिर्न आफूहरु मधेस झरेको स्पष्ट पार्दै उनले भने – “संविधान कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि निर्वाचन आवश्यक छ । हामी त्यस अभियानमा छौँ ।”

संयुक्त मधेसी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन गरी स्थानीय निर्वाचनको तयारी गरेको भए तराईका जनताको अकालमा ज्यान जाने स्थिति नआउने बताए ।

मुलुकको समस्याको समाधानका लागि पहिले संविधान संशोधन गर्नुपर्ने र केन्द्रको चुनाव अगाडि हुनुपर्ने उनको भनाइ थियो । रासस