घटनाको तेस्रो दिन पनि सप्तरी बन्दः दोषीमाथि कार्वाहीको माग

सप्तरी,फागुन २५ । एमालेको मेची महाकाली अभियानको क्रममा मधेशी मोर्चाले गरेको विरोध हटाउने क्रममा प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अनिश्चितकालीन आह्वान गरेको बन्दका कारण सप्तरीको जनजीवन आज पनि प्रभावित रहेको छ ।

मोर्चाले गरेको बन्दका कारण सप्तरीमा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्थाबन्द भएका छन । बन्दकर्ताहरुलेआज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा चल्ने सबै सवारी साधनहरु समेत बन्द गराएका छन् ।

सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा सोमबार तीनजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २४ जना कार्यकर्ता घाइते भएका थिए ।

प्रहरीको गोली लागेर घाइते भएका मोर्चाका कार्यकर्ताहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्यको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको बताइएको छ ।

उक्त घटनाबारे नेपाल पिछडावर्ग महासङ्घका केन्द्रीय प्रवक्ता उपेन्द्रप्रसाद साह र गैरसरकारी संस्था महासङ्घ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान (हुकोडन)का अध्यक्ष सुरेन्द्रप्रसाद यादव, मानवअधिकार तथा जनवकालत केन्द्र हुपेकका अध्यक्ष धर्मेन्द्रप्रसाद यादव र डब्लुएचआर सप्तरीकी अध्यक्ष अनिता देवकोटाले संयुक्त प्रेस विज्ञप्तिमार्फत घटनामा मानवअधिकारको घोर उल्लङ्घन भएको भन्दै दोषीको पहिचान गरी कार्वाही गर्न माग गरेका छन ।

साथै, मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल, शाखा सप्तरीका अध्यक्ष पुण्यप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै उच्चस्तरीय छानबिन आयोगद्वारा छानबिन गरी गोली हान्न आदेश दिने, ज्यान लिने दोषी प्रहरीमाथि अविलम्ब कडा कार्वाही गर्न जोड्दार माग गरेको छ ।

जिल्ला मतदाता अधिकार मञ्च सप्तरीका संयोजक पार्थो सरकार र नेपाल तरुण दल सप्तरीका सभापति सीताप्रसाद यादवले पनि संयुक्त प्रेस विज्ञप्तिमार्फत घटनाको भत्र्सना गर्दै दोषीमाथि कार्वाहीको माग गरेको छ ।