गोलीले गाउँ स्तब्धः मृतक परिवारको बिजोग

सप्तरी,फागुन २५ । सप्तरीको मलेठ–बसबिट्टीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच सोमबार भएको झडपमा गोली लागेर मृत्यु भएका तीनैजनाको परिवार शोकाकुल छ । अचानक आएको विपत्ले गाउँ स्तब्ध छ । मृतक तीनैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको छ । परम्पराअनुसार मृतकको अन्त्येष्टि नभएसम्म घरमा चुलो बल्दैन

मृतक परिवारको बिजोग

मृतकमध्ये सञ्जन मेहता र पिताम्बर मण्डलको पारिवारिक स्थिति निकै नाजुक छ । १० धुर ऐलानी जग्गामा जस्ताको झुप्रो बनाएर बस्दैआएका मण्डलका पाँच सन्तान छन् । ऋण काढेर जसोतसो छोरीहरूको बिहे गरेका मण्डलका दुई छोरा बेरोजगार छन् । ‘हाम्रो पालनपोषण गर्ने उहाँ मात्रै हुनुहुन्थ्यो,’ मण्डलकी पत्नी सोमनदेवीले मंगलबार रुँदै भनिन्–, ‘हाम्रो संसार नै उजाडियो ।’ ७५ वर्षीय मण्डलका बाबु गोसाईले आँसु झार्दै भने– ‘घर अगाडिको सडकमा निस्किएकै कारण छोराले ज्यान गुमाउनुपर्छ भनेर साचेको पनि थिइनँ ।’

त्यस्तै, सञ्जनकी श्रीमती बिहे गरेको नौ महिनामै विधवा भएकी छिन् । सोमबार प्रहरीको गोली लागेर सञ्जनको मृत्यु भएपछि उनको संसारै उजाडिएको छ । घटनापछि बेहोस् भएकी सबिताको हाल विराटनगरस्थित एक निजी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, भाइको मृत्युको खबरले सञ्जनका दाजु रञ्जन हृदयघात भई विराटनगरको एक अस्पतालमा भर्ना भएका छन् । गाउँको पान पसलमा सघाउँदै आएका सञ्जनको मृत्युपछि उनकी आमा पटक–पटक मुर्छित हुने गरेकी छन् ।

अहेव साहको परिवारमा पनि रुवाबासी

पाँच वर्षमुनिका बालबालिकाका लागि पोलियो खोप पुर्या‍एर घर फर्किरहेका आनन्द साह घरसम्म पुग्न सकेनन् । मिलनसार स्वभावका साहले घटना हुनु अगाडि श्रीमती अनितासँग मोबाइलमा कुराकानी गर्दै तुरुन्त घर आउँदैछु भनेका थिए । तर, केही छिनमै अनिताले आफ्ना पति मरेको खबर सुन्नु पर्यो‍ ।

शिक्षक युनियन सप्तरीका पूर्वअध्यक्ष नारायण साहका छोरा आनन्दका एक श्रीमतीसँगै दुई छोरा छन् । जेठो छोरा अभिशेख ११ कक्षा र कान्छो अनुज ७ कक्षामा अध्ययनरत छन् । उनको मृत्युपछि परिवारमा रुवाबासी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।