महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीयः प्रधानमन्त्री

३३ प्रतिशत महिलाको संसदमा प्रतिनिधित्व

काठमाडौँ,फागुन २४ । विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दहालले शुभकामना दिदै नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय भएको बताए ।

प्रधानमन्त्रीले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताए । देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाहरुको समान सहभागिता अत्यन्त जरुरी रहेको उनले औल्याए ।

नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको भन्दै उनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको बताए । संविधानमा महिलाको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा नेपाल पर्न सफल भएको उनले दाबी गरे ।

उनले भने–‘झण्डै एक दशक अघिबाट शुरू भएको रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विशेष गरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नु आवश्यक छ ।’