तराईमा मोर्चाको भाटासहित जुलुस प्रदर्शनः ओलीलाई कारवाही,निधिको राजिनामा माग

दुईदिन मधेस बन्दको घोषणा

जनकपुर,फागुन २४ । मधेशी मोर्चाले सप्तरीमा प्रहरीको गोली लागेर आफ्ना चार जना कार्यकर्ताको मृत्यु भएपछि त्यसको बिरोधमा मधेस बन्दको आह्वान गरेको छ । मोर्चाको हिजो साझँ बसेको बैठकले सरकारलाई आज लिखित रुपमा आफ्नो समर्थन फिर्ता गर्ने जनाएको छ ।

सोमबार दिउँसो सप्तरीको राजविराजमा भएको घटनाको समीक्षा गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले त्यसको सम्पूर्ण जिम्मेवार एमाले भएको निष्कर्ष सहित मोर्चाले सरकारलाई दिदै आएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

एमालेको मेची महाकाली अभियानाको क्रममा मधेशी मोर्चाले एमालेको कार्यक्रम हुननदिने खालका गतिविधि गर्दा हुन गएको घटनाबाट मधेशका चारजनाको निधन र दर्जनौं गम्भीर घाइते भएको मंगलबार र बुधबार दुईदिन मधेस बन्दको घोषणा समेत गरेको छ ।

मोर्चाका अनुसार उक्त घटनाबाट सञ्जय मेहता, दिगम्बर यादव, पिताम्बरलाल मण्डल र आनन्द साहको हत्या भएको छ भने दर्जनौं घाइते भएका छन । सरकारले मधेशीमाथी बारम्बार अपमान गरेको र राज्यका निकायहरुले सुरक्षाको नाममा अलोकतान्त्रिक र गैरजिम्मेवारी कार्य गरेको भन्दै मोर्चाले आफ्नो गम्भिर आपत्ती जनाएको छ ।

संघिय समाजवादी फोरम नेपालका नेता तथा मुस्लीम फोरम संठनका उपाध्यक्ष मंजारुल अन्सारीले हरपल नेपालसँग कुरा गर्दै भने–‘राज्यले तराईका जनतालाई मार्नका लागि अन्धाधुन्द गोली चलाएको देखियो,यो कस्तो राज्य हो ? जाँ जनताले राज्यबाटै असुरक्षित महसूस गर्नुपर्छ । हामी सरकारको उक्त गलत कदमको विरोध गर्दछौ ।’

नेता अन्सारीले एमालेका नेताहरुले मधेस र मधेसीविरुद्ध निरन्तर रूपमा रूखो व्यवहार गरेको र मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने, भड्काउने तथा उत्तेजक अभिव्यक्ति दिँदै आएको कारण त्यहाँका जनताले शान्तिपूर्ण विरोध गरेको बताए । उनले भने–‘राज्यले मधेशी जनतामाथी अन्धाधुन्ध गाली चलाएको छ,सोमबारको घटना एमाले र राज्यका कारण भएको हो, हाम्रो त्यहि निष्कर्ष रहेका छ ।’

मोर्चामा अहिले संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र सद्भावना पार्टी रहेका छन् ।

अहिले भाटासहित जुलुस प्रदर्शनः ओलीलाई कारवाही,निधिको राजिनामा माग

हिजो सप्तरीमा भएको घटनाको विारेधमा मध्य तराईका बिभिन्न शहरहरुमा अहिले विरोध प्रदर्शन भएको प्रहरीले जनाएको छ । मोर्चाका नेता,कार्यकर्ताहरुको बन्दका कारण धनुषाको जनकपुर, ढल्केवर क्षेत्रमा सवारीसाधन तथा पसल बजार बन्द गरिएको छ ।

जनकपुर प्रहरीका अनुसार अहिले मोर्चा कार्यकर्ताहरु सडकमा भाटासहित जुलुस निकालिरहेका छन् । केही स्थानमा उनीहरुले सवारीसाधन संचालन गरेको भन्दै तोडफोड समेत गरेका छन् । मुख्य चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका आक्रोशित आन्दोलनकारी उग्र बन्दै गइरहेक बताइएको छ ।

प्रहरी श्रोतका अनुसार आक्रामक शैलिमा निस्केका मोर्चाका कार्यकर्ताहरुले जनकपुरको पिडारी चोकमा ना.७ ख.२२६३ नम्बरको टिपरमा तोडफोड गरेका छन् ।

नारा जुलुस सहित सडका उत्रिएका मोर्चाका नेताहरुले एमाले अध्यक्ष केपी ओलीलाई कडा कारबाही र गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामाको माग गरेका छन ।

एमालेलाई अभियान फिर्ता लिन सत्तारुढ दलको आग्रह

सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोनमार्फत तराईमा असान्ती हुने अवस्था सिर्जना भएको बताउदै मेची–महाकाली अभियान तत्काल फिर्ता लिनआग्रह गरे ।

जवाफमा ओलीले एमालेले राष्ट्र र जनताप्रति जिम्मेवारीका साथ निर्णय गर्ने बताएका थिए । ओली र दाहालबीचको वार्तापछि बसेको एमाले स्थायी समिति बैठकले तीन दिनका लागि अभियान स्थगित गर्ने निर्णय गरेको छ ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले सप्तरीमा सोमबार भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीमा सोमबार दिउँसो भएको गम्भीर घटनाको विषयमा जानकारी पाएलगत्तै अभियान फिर्ता लिन एमालेसँग आग्रह गरेका छन् ।