मधेसका ठाउँ–ठाउँमा मसाल जुलुस

काठमाडौँ,फागुन २४ । सप्तरी घटनापछि सोमबार साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले मंगलबार र बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको निधन भएपछि मोर्चाले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान गलत भएको टिप्पणी गरेको छ । मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको भनिए पनि औपचारिक विज्ञप्तिमा यो विषय उल्लेख छैन ।

एमालेका शीर्ष नेताले मधेस र मधेसीविरुद्ध विषवमन गर्दै अपमानित गर्ने र उत्तेजक अभिव्यक्ति दिने गरेकाले सप्तरीको घटना भएको मोर्चाको निष्कर्ष छ । मोर्चाले सप्तरी घटनामा सरकारले गैरलोकतान्त्रिक र हिंसात्मक चरित्र देखाएको आरोपसमेत लगाएको छ । घटनालगत्तै वीरगन्ज, जनकपुर, रौतहट, राजविराजलगायत तराईका विभिन्न सहरमा मोर्चाका कार्यकर्ताले सोमबार साँझ मसाल जुलुस प्रदर्शन गर्दै आन्दोलन चर्काउने घोषणा गरेका छन् । उता, पूर्वनिर्धारित कार्यक्रमअनुसार शान्तिपूर्ण ढंगले कालोझन्डा देखाउँदै प्रदर्शन गरिरहेका आफ्ना कार्यकर्ता तथा मधेसी जनतामाथि सुरक्षाकर्मीले गोली चलाएर चारजनाको हत्या गरेको र दर्जनौंलाई घाइते बनाएको घटनाको विरोधमा मधेसी मोर्चा सप्तरीले सोमबार साँझदेखि अनिश्चितकालीन सप्तरी आमहडतालको घोषणा गरेको छ ।

माओवादी केन्द्र भन्छ– सप्तरी घटनामा दुवै पक्ष दोषी

माओवादी केन्द्रले सप्तरी घटनामा एमाले र मधेसी मोर्चा दुवै दोषी रहेको निष्कर्ष निकालेको छ । प्रतिकूल अवस्थामा जसरी पनि कार्यक्रम गरेर देखाउने एमालेको अतिवाद र जसरी पनि बिथोल्ने मोर्चाको अतिवादका कारण सप्तरी घटना भएको माओवादी निष्कर्ष छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले दुवै पक्षलाई संयम हुन आग्रह पनि गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।