एमाले अभियान तीन दिनलाई स्थगित

काठमाडौं,फागुन २४ । सप्तरीको घटनापछि एमालेले मेची–महाकाली अभियान तीन दिनलाई स्थगित गरेको छ । स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरेको जनाएको छ । अभियान स्थगित भएपछि एमाले नेता र कार्यकर्ताहरू सप्तरीबाट उदयपुर हुँदै काठमाडौं फर्किने भएका छन् । स्रोतका अनुसार स्थायी समिति टोलीमा रहेका केही नेता पूर्व फर्किएर पार्टी कार्यक्रममा सहभागी हुनेछन् भने अधिकांश नेता–कार्यकर्ता काठमाडौं फर्किनेछन् । अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू सोमबार साँझ कञ्चनपुरमा वास बस्ने कार्यक्रम थियो । तर, सुरक्षा संवेदनशीलता बढेकोले उनीहरू मध्यराति विराटनगरतर्फ लागेका छन् ।

यसअघि साँझैँ पार्टी नेता सुमन प्याकुरेलको रुपनगरस्थित घरमा स्थायी समितिको बैठक बसेको थियो । बैठकले सप्तरी घटनालाई निर्वाचन हुन नदिएर संविधान असफल पार्ने षड्यन्त्रको परिणाम भनेको छ । ‘हाम्रो पार्टीले मुलुकलाई जबर्जस्ती मुठभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण विगतमै गरेको थियो । आजको घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र विध्वंसात्मक गतिविधिलाई नै पुष्टि गरेको छ,’ स्थायी समिति बैठकपछि एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अभियान भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेको अवस्थामा राजविराज घटनाबाट आफू दुःखी भएको एमालेले जनाएको छ । ‘संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको एमालेलाई प्रवेश निषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थलनजिकै विस्फोटक पदार्थ बिछ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुंगामुढा, पेट्रोल बम प्रहार गर्नेजस्ता काम गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधि प्रदर्शन गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।