विप्लवले पार्टीको नामबाट ‘माओवादी’ हटाएपछि कायकर्ताको असन्तुष्टि

थवाङबाट विप्लवका नेता,माओवादी केन्द्रमा प्रवेश

रोल्पा,फागुन २३ । पार्टीको आठौँ महाधिवेशनबाट विप्लव नेतृत्वको दलले नामबाट माओवादी शब्द हटाएपछि कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । सो दलको नाम नेपाल कक्युनिष्ट पार्टी राखिएको छ । नामकै कारण नेतृत्व तथा पार्टी स्थापित भएको सन्दर्भमा त्यसैलाई छाडेर हिँड्नु विचलन भएको भन्दै स्युरी गाविसको विप्लव नेतृत्वको पार्टी कमिटी नै माओवादी केन्द्रमा समाहित भएको छ ।

आइतबार स्युरीमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीबीच गाविसस्तरमा एकीकरण भएको घोषणा गरिएको छ । एकीकरण कार्यक्रममा बोल्दै नेकपाका गाविस अध्यक्ष खडक घर्तीले विप्लवले माओवादी छाडेर विचलनको बाटो अँगालेको आरोप लगाए ।

‘माओवादीले प्राप्त गरेका उपलब्धि संस्थागत गर्नुको सट्टा नामबाटै भाग्नु राम्रो भएन’ अध्यक्ष घर्तीले भने, ‘स्थानीय निर्वाचनमा समेत भाग नलिने भनेपछि नेपाल कम्युनिस्ट पार्टीसँग कुनै आशा र साइनो नै रहेन ।’ स्थानीय चुनाव बहिष्कार गरेर जनताको भावनाविपरीत काम गरेको विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट एकीकरणमा सहभागीहरूको आरोप छ ।

१० वर्षे जनयुद्धमा प्राप्त अधिकार पनि गुम्ने खतरा रहेका कारण माओवादी केन्द्रमा गोलबन्द भएको अध्यक्ष खडक घर्तीले बताए । अहिलेसम्मको उपलब्धि माओवादीले नै हासिल गरेको भन्दै माओवादी छाडेर जनयुद्धको रक्षा गर्छु भन्नु व्यर्थ हुने घर्तीले बताए । जनताले विकास निर्माण चाहिरहेको भन्दै फेरि पनि दुःख दिने काम नगर्न उनले विप्लवलाई सुझाबसमेत दिए ।

दुई पार्टीबीच एकीकरणसँगै गाविसस्तरको नयाँ कमिटीसमेत गठन गरिएको छ । एकता भेलाबाट अध्यक्षमा खडक घर्ती, उपाध्यक्षमा सन्तु कामी, सचिवमा कुलप्रसाद बुढा, कोषाध्यक्षमा जोखबहादुर विक र सहसचिवमा अनिशा घर्ती चयन भएका छन् । नेकपाको गढ मानिने थवाङमा पनि नेकपा माओवादी केन्द्रले वडा पालिकाको सम्मेलन गरेको छ । सम्मेलनले नयाँ थवाङ वडा कमिटी निर्माण गरेको माओवादी केन्द्र थवाङका नेता बिनप्रसाद पुनले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।