नयाँ शक्तिको कार्यकारी समितिको बैठक बुधबार बस्दैः आन्तरिक विवाद मिलाउने प्रयत्न

पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा हुने

काठमाडौं,फागुन २३ । नयाँ शक्ति पार्टी,नेपाल को केन्द्रीय कार्यकारी समितिको बैठक आगामी फागुन २५ गते काठमाडौंमा बस्ने भएको छ । उक्त बैठकमा पछिल्लो चरण पार्टीभित्र विकासभएको विभाजनको हल्लाको विषयमा समेत समिक्षा गर्दै पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजनाको विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

हरपल नेपालसँग कुरागर्दै पार्टी प्रवक्ता समेत रहेका नेता खिमलाल देवकोटाले पार्टीको उक्त बैठकले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन र टुंगोमा पुग्न नसकेको संविधान संशोधनको प्रक्रियाकाबिच बढ्दै गएको राजनीतिक टकरावबाट देशलाई कसरी निकास दिने भन्ने सवालमा बैठकले ठोस नीति तथा कार्ययोजना तयार गर्ने बताएका हुन ।

उनले पार्टीभित्रका सबैखाले आन्तरिक विवादहरुको हल गर्ने उद्देश्यले बैठकको आयोजना गर्न लागेको बताउदै भने–‘हाम्रो पार्टीमा रहेका सबै विवादहरु यो बैठकले हल गर्दै पार्टीलाई एकतामा बाध्ने र बलियो रुपमा प्रस्तुत गर्ने हामीले विस्वास गरेका छौ । सबै असन्तुष्ट नेताहरुको कुरा सुनेर समाधान खोज्न प्रयास हुनेछ । पार्टीबाट कोहीपनि बाहिरीने कुरा हुदैँन । देखिएका असन्तुष्टिहरुको निकासका लागि हामी आन्तरिक छलफल गर्दैैछौ ।’

प्रबक्ता देवकोटाका अनुसार फागुन २७ गते बेलुकासम्म प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै नयाँ शक्ति पार्टी,नेपालले संकलन गरेको हस्ताक्षर सहित आफ्नो मागपत्र सरकारलाई बुझाउने तयारी समेत गरेको छ ।

कार्यकारी समितिको बैठकले यहि फागुन २६ र २७ गते काठमाडौंमै बस्ने अन्तरिम केन्द्रीय परिषद्को बैठकका एजेण्डा तय गर्ने र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने प्रवक्ता देवकोटाले बताए ।

नयाँ शक्तिले पार्टीको अन्तरिम संरचना अन्तर्गत १०३ सदस्यीय केन्द्रीय कार्यकारी समिति र १ हजार १९२ सदस्यीय अन्तरिम केन्द्रीय परिषद बनाएको छ ।