एमालेले सिरहाको चोहर्वामा बुधबार गर्ने सभाको तयारी तिब्र

सुरक्षाको प्रबन्ध मिलाउन माग

सिरहा,फागुन २३ । एमालेको मेची–महाकाली अभियानअन्तर्गत सिरहाको चोहर्वामा बुधबार हुने सभाको तयारी तीब्र पारेको छ । एमालेले विभिन्न ठाउँबाट आउने नेता तथा कार्यकर्ताको बास व्यवस्थापन तथा कार्यक्रम गरिने मञ्चको तयारी थालेको बताएको छ ।

एमाले श्रोतका अनुसार नेता तथा कार्यकर्ता बसोबासका लागि पार्टी केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठको घरनजिक अस्थायी आवासगृह बनाइएको बताइएको छ । कार्यक्रम गर्न चोहर्वास्थित जनता उमाविको प्रांगणलाई केन्द्रित गरेर तयारी अघि बढाएको एमाले जिल्लासचिव योगेन्द्रप्रसाद सिंहले बताएका छन ।

पार्टी केन्द्रीय अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने उक्त कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनका लागि जिल्लाका विभिन्न गाउँका हजारजना युवा परिचालन गर्ने तयारी गरिएको जिल्ला अध्यक्ष प्रमोद यादवले बताए ।नेता यादवले भने–‘हाम्रो स्वयंसेवकसँगै सुरक्षा निकाय पनि त्यत्तिकैको संख्यामा रहनेछन, ‘यो कार्यक्रम कसैमाथि लक्षित गरेर नभई पार्टीको नीतिअनुसार हुन लागेको छ,अवरोधबाट बचाउने सुरक्षा निकायको जिम्मा हो, हामी शान्तिपूर्ण तवरले कार्यक्रम गर्नेछौँ ।’

उता, मेची–महाकाली अभियानअन्तर्गत हुने कार्यक्रमका लागि एमालेले चोहर्वास्थित जनता उमावि प्रांगणलाई चयन गरेपछि पढाइ प्रभावित हुने भएको छ । उक्त विषयमा मधेशी मोर्चा सम्बद्ध नेताहरुले प्रयोग गर्न नदिने बताइरहेको बेला एमालेले विद्यालयको प्राङगढको माग गर्दा आफुहरु दोहोरो मारमा परेको प्रधानाध्यापक ब्रह्मदेवप्रसाद सिंहले बताएका छन ।

एमालेले मेची–महाकाली अभियानअन्तर्गत सिरहाको चोहर्वामा गर्ने कार्यक्रमलाई लक्षित गरेर स्थानीय प्रशासनले सशस्त्र र नेपाल प्रहरी गरी हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ । कुनै प्रकारका अप्रिय घटना हुन नदिन विभिन्न निकायसँग समन्वय गरेर कडा सुरक्षा व्यवस्था मिलाउन लागिपरेको जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताएका छन ।