राजविराजमा एमाले र मधेशी मोर्चाबीच झडपको स्थितिः आमसभास्थल सर्यो

औद्योगिक क्षेत्रमा पनि मोर्चाले प्रदर्शन गर्ने

सप्तरी,फागुन २३ । मधेसी मोर्चाका कार्यकर्ताको व्यापक अवरोधका कारण एमालेले सोमबार राजविराजको राज रंगशालामा गर्ने तय भएको आमसभा तीन किमि टाढाको बसबिट्टी गाविसमा सारेको छ । एमालेले अब बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आमसभा गर्ने भएको हो । राजविराजमा मोर्चाका कार्यकर्ताले आमसभा गर्न नदिने भन्दै प्रदर्शन थालेपछि एमालेले कार्यक्रमस्थल सारेको जनाएको छ ।

मोर्चाले पछिल्लो चार दिनदेखि लगातार प्रदर्शन गरिरहेको छ । ‘राजविराजको रंगशालामै आमसभा गर्ने तय गरेका थियौँ,’ एमाले सप्तरी अध्यक्ष गोविन्द न्यौपानेले भने, ‘तर, मुठभेडको स्थिति निम्तिन नदिन बसबिट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको प्रांगणमा आमसभा गर्ने तय गरेका हौँ ।’

औद्योगिक क्षेत्रभित्रै एमालेको सोमबार आमसभा हुने भनिए पनि आइतबार सा“झसम्म मञ्चको तयारी थालिएको छैन । आइतबार बिहानैदेखि औद्योगिक क्षेत्रमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । उता, एमाले मधेस र मधेसीविरोधी भएकाले संविधान संशोधन हुन नसकेको भन्दै मधेसी मोर्चा सप्तरीले एमालेको कार्यक्रम सफल हुन नदिन एक साताअघि संघर्षको कार्यक्रम नै सार्वजनिक गरेको थियो । सप्तरी प्रवेशनाका भारदहमा मोर्चाले सोमबार बिहानैबाट प्रदर्शन थाल्ने जनाएको छ । सप्तरीको हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी र राजविराजमा बिहानैदेखि लाठी जुलुस प्रदर्शन र चक्काजामको तयारी थालेको मोर्चाले जनाएको छ ।

यस्तो छ सप्तरीमा एमालेको रुट

मेची–महाकाली अभियानको एमाले टोली भारदह हुँदै हनुमाननगर, तोपा, राजविराज, रुपनी भएर राती बास बस्न कञ्चनपुर पुग्नेछ । राजविराजबाट रुपनी जाने क्रममा बीचमै रहेको औद्योगिक क्षेत्रमा आमसभा हुनेछ । एमाले अध्यक्ष ओलीसहितका नेताको बासस्थान कञ्चनपुर हुने भएकाले मोर्चाले त्यहाँ पनि लाठी जुलुस र चक्काजामको कार्यक्रम तय गरेको छ ।

औद्योगिक क्षेत्रमा पनि मोर्चाको प्रदर्शन

सरकारी स्वामित्वमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले सभा गर्ने तय गरेपछि आइतबार बिहानदेखि मोर्चाका कार्यकर्ताले त्यहाँ टायर बालेर प्रदर्शन गरेका छन् । औद्योगिक क्षेत्रका प्रवेशद्वारसहित विभिन्न ठाउँमा मधेस आन्दोलनमा मृत्यु भएकाको तस्बिर झुन्ड्याइएको छ ।

‘औद्योगिक क्षेत्रमा हामी अरूलाई पनि आमसभा गर्न दिँदैनौँ, हामी पनि गर्दैनौँ’, मधेसी मोर्चा सप्तरीका संयोजक दिनेश यादवले भने, ‘जबरजस्ती त्यहाँ सभा गरियो भने हुने क्षतिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासन र सम्बन्धित राजनीतिक दल हुनेछन् ।’ मोर्चाले आइतबार साँझ सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । सप्तरीको भारदह, कञ्चनपुर, रुपनी, हनुमाननगरसहितका ठाउँहरूमा पनि आइतबार साँझ मोर्चाले मसाल जुलुस प्रदर्शन गरेको छ ।

चार दिनदेखि आम्नेसाम्ने

एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्ता पछिल्लो चार दिनदेखि आम्नेसाम्ने हुँदा पटक–पटक तनावको स्थिति उत्पन्न भएको छ । राजविराजमा गत बिहीबार साँझ घरदैलोमा रहेका एमाले कार्यकर्ता र विरोध प्रदर्शनमा रहेका मोर्चा कार्यकर्ताबीच सामान्य झडप भएको थियो ।

यस्तै, शुक्रबार पनि राजविराजस्थित हटियामा पर्चा वितरण गरिरहेका एमाले सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई मोर्चासम्बद्ध युवा–विद्यार्थीले मोसो दलेका थिए । एमाले नेतृ एवं व्यवस्थापिका संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं समाज कल्याण समितिका सभापति रञ्जु ठाकुरलाई लक्षित गर्दै ढुंगा प्रहार भएको थियो । यस्तै, मोर्चाका कार्यकर्ताले शुक्रबारै राजविराजमा नाराबाजी गर्दै एमालेको झन्डा जलाए । जिल्लासचिव शम्भु यादवमाथि दुव्र्यवहारसमेत भएको एमाले सप्तरीले विज्ञप्तिमार्फत जानकारी
दिएको छ ।

सुरक्षा व्यवस्था बढाइयो

एमालेको मेची–महाकाली अभियानलाई विरोध गर्न मधेसी मोर्चाले छुट्टै संघर्षको कार्यक्रम सार्वजनिक गरेपछि आइतबारदेखि सदरमुकाम राजविराजसहित जिल्लाका विभिन्न ठाउँमा स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । राजविराजस्थित रगंशाला, विभिन्न चोक तथा औद्योगिक क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीका पूर्वाञ्चल प्रमुख डिआइजी रमेशकुमार भट्टराई र सशस्त्र प्रहरीका पूर्वाञ्चल प्रमुख जानकी भट्टराई सप्तरी आएर एमाले र मोर्चाका नेताहरूबीच छुट्टाछुट्टै छलफलसमेत गरेका छन् ।