उद्योग तोडफोड तथा जमिन अतिक्रमणका १० आरोपी पक्राउ

काठमाडौँ,फागुन २३ । उद्योगमा तोडफोड गरेको आरोपमा पर्सा प्रहरीले माओवादी केन्द्रका नेता प्रभु यादवसहित १० जनालाई पक्राउ गरेको छ । सार्वजनिक जग्गा अतिक्रणम गरेको भन्दै जगदम्बा उद्योग आइतबार दिउँसो तोडफोड भएको छ ।पक्राउ पर्नेमा चोर्नी–१ का मुन्ना पासवान, चोर्नी–२ का प्रभुप्र्रसाद यादव र काशी महतो, चोर्नी–४ का नरेन्द्र मण्डल, चोर्नी–३ का जितेन्द्रप्रसाद यादव, दीपेन्द्र यादव, विजय महतो, राजकुमार महतो, किशुनलाल महतो र वीरगन्ज–२७ मुर्लीका हेजाजु मियाँ छन् । उनीहरूलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ ।

जगदम्बा उद्योगमा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । जगदम्बा उद्योग तोडफोड गर्नुको साथै पर्खाल भत्काउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए । ‘जगदम्बाको पर्खाल भत्काउनुको साथै उद्योगमा तोडफोड गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्,’ प्रहरी निरीक्षक ढुंगानाले भने, ‘जाहेरी परेको छ, अनुसन्धान गरेर कारबाही पक्रिया अगाडि बढाउँछौँ ।’

जमिन अतिक्रमण गरेको आरोप

स्थानीय बासिन्दाले ऐलानी जमिन अतिक्रमण गरेर उद्योगले पर्खाल लगाएको आरोप लगाएका छन् । अतिक्रमण हटाउने क्रममा प्रहरीले पक्राउ गरेको उनीहरूको दाबी छ । चोर्नी–६ मा रहेको जगदम्बा कंक्रिट उद्योग, चोर्नी–४ मा रहेको शिवशक्ति केमोप्लास्ट र चोर्नी–७ मा रहेको त्रिवेणी स्पेनिङ मिलेर छेउछाउमा रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी पर्खाल लगाएको आरोप स्थानीयको छ । सरकारलाई अतिक्रमणबारे जानकारी दिए पनि सुनुवाइ नभएपछि भत्काएको चोर्नी–३ का सुजितप्रसाद यादवले बताए । जिल्ला प्रशासन, जिविस, नापी, मालपोत मात्रै नभएर प्रधानमन्त्री कार्यालयमा समेत सार्वजनिक जग्गा अतिक्रमण गरेको जानकारी दिएको उनको भनाइ छ । पाँच बिघाभन्दा बढी जमिन अतिक्रमण गरेर उद्योगहरूले पर्खाल लगाएको उनको दाबी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।