हालसम्म सिंहदरबारमा रहेको अधिकार जनताको दैलोमा पुग्छः प्रधानमन्त्री

‘जनप्रतिनिधि विहीनताको अवस्था अन्त्य गर्न निर्वाचन आवश्यक’

काठमाडौं,फाल्गुन २२ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले हालसम्म सिंहदरबारमा रहेको अधिकार आफ्नो नेतृत्वमा रहेको सरकारले जनताको दैलोमा पुर्याई सेवा र विकास दिन चाहेको बताएका छन । प्रधानमन्त्री प्रचण्डले सरकारले स्थानीय तहको निर्वाचन गरेर स्थानीय निकायलाई जनप्रतिनिधि विहीनताको अवस्थाबाट मुक्त गर्ने योजना बनाएको बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन । उनले मुलुकमा स्थानीय निकायको गठनपछि ठूलो परिवर्तन आउनेमा आफु आशावादी रहेको समेत बताए । उनले स्थानीय प्रतिनिधि मार्फत सरकारको उपस्थिती जनताको घर घरमा पुर्याउने आफ्नो इच्छा रहेको समेत बताएका छन ।

नेपाली जनताको लामो समय देखिको सङ्घर्षको परिणामस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई हाल त्यसको कार्यान्वयनको चरणमा रहेको बताउदैँ उनले भने–‘संविधानप्रति असन्तुष्ट मधेशी, थारु, आदिबासी जनजाति लगायत समुदायका जायज माग सम्बोधन गरी संविधानको स्वीकार्यता फराकिलो बनाउनका लागि सरकारले संविधान संशोधनको विधेयक व्यवस्थापिका संसदमा टेबुल गरिसकेको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष स्थानीय तहको निर्वाचनको घोषणा गरी निर्वाचनतर्फ मुलुक अगाडि बढिसकेको छ । ढु्रक्क हुनुहोस अब सरकारको उपस्थिती जनताको घर घरमा हुन्छ,सेवा प्रवाहमा कुनै समस्या हुनेछैनन ।’

गुणस्तरीय जनशक्ति बिना संविधानले परिकल्पना गरेको सम्वृद्ध नेपालको सपना व्यवहारमा उतार्न नसक्ने यथार्थताप्रति ध्यान केन्द्रित गरेर सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताउदै उनले भने–‘बर्तमान सरकारले संविधानमा व्यवस्था गरिएका प्रदेशहरुमा उच्च प्राविधिक र रोजगारमुखी शिक्षालाई समेत प्राथमिकतामा राखेको छ । मुलुकको हालको जनसंख्या हेर्दा हामी पपुलेशन वोनसको यूनिक अवस्था अर्थात् आर्थिक रुपमा क्रियाशील जनसंख्या लगभग ६० प्रतिशतको हाराहारीमा रहेको छ । यस्तो अवसर कुनै पनि मुलुकका लागि बिरलै प्राप्त हुन्छ । यो जनसंख्याको रोजगारमुखी उच्च शिक्षामा पहुँच स्थापित गराई मुलुकको आर्थिक सम्वृद्धिमा लगाउनु अहिलेको प्रमुख आवश्यकता हो ।’

उनले भने–‘ज्ञान एकाङ्की हुदैन, त्यो सार्वभौम हुन्छ । त्यसैले जाति, लिङ्ग, भाषा, धर्म भन्दामाथि उठेर निराकार भई पाएको ज्ञानलाई राष्ट्र सेवामा लगाउनुहोस् । अहिले मुलुक भूकम्प पश्चात्को पूर्नर्निर्माणको महत्वपूर्ण चरणमा छ । तपाईहरुले हासिल गर्नुभएको प्रविधियुक्त ज्ञानको प्रयोग पुनर्निर्माण र राष्ट्रको आर्थिक सम्वृद्धिका लागि लगाउनुहोस् । मुलुकभित्र उपलब्ध साधन स्रोत, जलसम्पदा आदिको समुचित प्रयोग गरी राष्ट्र निर्माणमा लगाउका लागि सरकार सधै तपाईहरुसँग रहेको छ ।’

आफ्नो स्थापना कालदेखि हालसम्म यस विश्वविद्यालयबाट झण्डै ८८ हजार विद्यार्थीहरुले स्नातक एवं स्नातकोत्तर तहको विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययन सम्पन्न गरिसकेको छ । यो मुलुकको दोश्रो ठूलो विश्वविद्यालयको रुपमा स्थापित भएको छ । विश्वविद्यालयले ७० भन्दा बढी शैक्षिक कार्यक्रम, ५ वटा आङ्गिक क्याम्पस र १०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस सञ्चालन गरिरहेको छ ।