सरकारले मधेशी मोर्चासँग संवाद जारी राख्नेः सहमति बढ्ने संकेत

मोर्चाले होलीसम्म सरकारलाई कुरेर बस्ने

काठमाडौँ,फागुन २२। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच विभिन्न विषयमा सहमति हुन नसकेपछि बढेको दुरी मामओवादी केन्द्रको हिजो हेडक्वाटर बैठकले नजिक गराउने कोसिस गरेको छ । संविधान संशोधन र स्थानीय चुनावको विषयमा सरकारले अझै छलफल गर्ने बताएपछि मधेशवादी दलहरु खुशी भएका छन । माओवादी केन्द्रको हिजोको निर्णयले मधेशवादी दल र सरकारको दुरीलाई केही नजिक्याउने संकेत गरेको हो ।

माओवादी केन्द्रको शनिबार बसेको हेडक्वाटर बैठकले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको सन्दर्भमा संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनको सहज वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल एमाले, मधेशी मोर्चा, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका दलसँग संवाद जारी राख्ने निर्णय गरेसँगै मधेशी मोर्चासँगको सम्बन्धमा पुर्न नजिकीने माओवादी श्रोतले दाबी गरेको छ ।

सरकारको नेतृत्वसमेत गरेको माओवादी केन्द्रको हिजोको उक्त निर्णयले दलहरूबीचमा सहमति हुने आशा जगाएको भन्दै माओवादी नेता तथा पार्टी प्रवक्ता पम्फा भुसालले भनिन–‘चुनाव अगावै संशोधन विधेयक पारित गराउन सरकारले पहल गर्नुपर्छ र त्यसका लागि राप्रपा, एमाले, फोरम लोकतान्त्रिकलगायतका दलसँग छलफल गर्ने निर्णय भएको हाम्रो पार्टीले गरेको छ । चुनाव अगावै दलहरूबीचमा गम्भीर छलफल भयो भने सहमति हुनेमा हामी आशावादी रहको छौं ।’

प्रधानमन्त्री प्रचण्डले पनि मधेशी मोर्चासँग सहमतिका लागि पटक पटक सहमतिको प्रयास गर्दे आएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सरकारले गरेको सहमतिको प्रयाशसँगै मधेशी मोर्चाले पनि तत्कालै कुनै आन्दोलनको कार्यक्रम घोषणा गरेको छैन । मधेशी मोर्चासँग सहमति हुने सम्भावनालाई लिएर फागुन २७ गतेसम्मका लागि संसद् स्थगित गरिएको छ भने मोर्चा पनि होलीसम्म सरकारलाई कुरेर बस्ने भएको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शनिबार आयोजित एक कार्यक्रममा भने–‘हामी अझै सरकारको कदमलाई कुरेर बसेका छौँ, सरकारले संविधान संशोधन विधेयक संशोधनसहित पारित गराउँछ भन्नेमा मलाई विश्वास ुछ । सरकार संशोधन गरेर सहमितको बाटोमा हिड्नको साटो जबर जस्त निर्वाचन गराउन लागेको अवस्थामा भने हामीपनि फरक तरिकाले उभिन्छौ ।’

फागुन १८ गते बसेका बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दल एमालेसँग छलफल गरेर मोर्चाका नेताहरूसँग एकपटक पुनः छलफल गर्ने समेत बताएका थिए । सरकार र मधेशी मोर्चाबीच वार्ता हुँदा सत्तारूढ दल माओवादी केन्द्र र काँग्रेसले संविधान संशोधन विधेयक पारित गराउने प्रतिबद्धता जनाएको थियो तर मधेशी मोर्चालाई चुनावका लागि तयार हुन उसले आग्रह पनि गरेको थियो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चाले फागुन २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको भन्दै बताए–‘मोर्चाको बैठक बसेको छैन, बसेपछि मात्र केही निर्णय लिन सकिन्छ, अहिले केही भन्ने अवस्था छैन । तर सरकारले केहि सहमतिको प्रयास गरेको देखिएको छ,हामीले यसलाई सकारात्मक रुपमा लिएका छौ । हाम्रो माग संशोधन पहिले हुनुपर्छ भन्ने नै हो । यसमा सरकार के गर्छ हामी पहिले त्यो हेर्न चाहन्छौ ।’

अध्यक्ष राजेन्द्र महतोले सत्तारूढ दलका नेताहरूको कुरा सुन्दा अब संविधान संशोधन हुँदैन जस्तो लागेको तर प्रधानमन्त्री प्रचण्डले अझै वार्ता गर्ने भनेकाले केहिसमय उहाँको कुरा सुन्ने विचारमा मोर्चा रहेको बताएका छन ।

मधेशी दलहरुले सरकारसँग अहिले नै सबै खालको असहमति नभएको भन्दै अझै वार्ता गरेर निकास खोज्ने सम्भावना बढेको बताएका छन । उनीहरुले आफ्नो माग पुरा नभएमा निर्वाचनमा सहभागिता नहुने र त्यसको विरोध गर्ने समेत जनाउदै आएका छन ।