‘अखिल क्रान्तिकारी विद्यार्थी आन्दोलनको अगुवा संगठन होः सारमा हाम्रो जित नै भएको छ’

‘बालकोटको निर्देशनमा उपत्यकाका केहि क्याम्पसमा निर्वाचन रोकियो’

स्ववियु निर्वाचनको लागि अन्य विद्यार्थी संगठनहरु भन्दा पहिले नै तयारीमा जुटेको माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले निर्वाचन अघि पहिलो नम्बरको संगठन हुने दाबी गरेको थियो । अहिलेसम्मको स्थीतिलाई हेर्दा अझै धेरै क्याम्पसहरुमा निर्वाचन नभएको देखिन्छ । त्रिविले शनिबारसम्म देशभर स्ववियु निर्वाचन भएका २५१ वटा क्याम्पसको निर्वाचन परिणाम सार्वजनीक गर्दै एमाले अखिलले त्रिविका ९ आंगिक क्याम्पस र ९९ सामुदायीक गरी १०८ वटा क्याम्पसमा सभापति जितेको बताएको छ । त्यसैगरी नेविसंघले ७७ र माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले ५० क्याम्पसमा सभापति जीतेको बताएको छ । तर उपत्यककामा त्रिविका अधिकांश ठूला क्याम्पसहरुमा भने अखिल क्रान्तिकारीकै वर्चस्व रहेको देखिएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विभिन्न तर्कहरु प्रस्तुत गर्दै आफ्नो संगठन अहिले पनि पहिलो नम्बरमै रहेको दाबी गरेका छन । प्रस्तुत छ,हरपल नेपालले क्रान्तिकारीका अध्यक्ष न्यौपानेसँग गरेको कुराकानी……

१) स्ववियु निर्वाचन कस्तो भयो ? तपाईको संगठनको निष्कर्ष के छ ?

विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन हाम्रो संगठनको अथक प्रयासपछि यस पटक सफल भएको छ । स्ववियु निर्वाचनका सन्दर्भमा हामीले लामो समयदेखि उठाउँदै आएको निर्वाचन प्राणाली,२८ बर्षे उमेर हद लगाएतका मुद्धाहरुले अहिलेको स्ववियु निर्वाचनमा लागु गरिएका छन,यसर्थ हाम्रो संगठनको नितिगत विषयमा जित भएको छ ।

निर्वाचनको पहिलो कार्यतालिका अनुसार फागुन १४ गते निर्वाचन हुनुपर्ने थियो,तर केही विद्यार्थी संगठनहरुले बाधा गरेकाले सहमतिका आधारमा दोश्रो कार्यतालिका अनुसार ४ दिन ढिला गरेर १८ गते सारेर गत १८ गते निर्वाचन गरियो । यसरी निर्वाचनको कार्य तालिका सार्दापनि विभिन्न विद्यार्थी संगठनहरु आफनो अस्तीत्व र विचारसँग जोडिएर धेरै क्याम्समा चुनाव गर्न नदिने र तालाबन्दी गर्दै बसेको देखियो । अहिले जितेको भनी दाबी गर्ने विद्यार्थी संगठनहरुले जहाँ आफ्नो जीत देखे त्यहाँ निर्वाचन गराउँन सहज बनाए र जहाँ हार्ने अवस्था देखेँ, त्यहाँ अहिलेसम्म तालाबन्दी गरिराखेका छन । जितेको भनिएका संगठनहरुको हार मानसिकताकै कारण धेरै क्याक्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न हुन सकेको छैन ।

त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसहरुको हकमा झन्डै २०÷२२ वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । हाम्रो संगठनले उपत्यकका ठूला क्याम्पसहरु पुल्चोक,थापाथली,सानोठिमी शिक्षा क्याम्पस,महालक्ष्मी बहुमुखी क्याम्पस लगायतका थुप्रै क्याम्पसहरुमा आफ्नो विजय गराएको छ,हिजोसम्म अखिल र नेविसंघको किल्लाका रुपमा देशभरी चिनिएका ती क्याम्पसमा हामीले त्यो प्रर्खाल भत्काउदै क्रान्तिकारीको झण्डा गाड्न सफल भएका छौ,यसको आफ्नै खालको अर्थ र महत्व रहेको छ । त्यसैले अहिलेको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी पहिलो संगठनका रुपमा आएको हामीले निष्कर्ष निकालेका छौ ।

२) तर त्रिविले सार्वजनिक गरेको लिस्ट र विद्यार्थी संगठनहरुले सार्वजनिक गरेको विजेता लिस्टमा त तपाईहरु धेरै पछाडि परेको देखिन्छ नि ?

हामीले हाम्रो डाटालाई निर्वाचन अगाडिनै सार्वजनिक गरेका थियौ कि अहिलेको स्ववियु निर्वाचनमा हाम्रो संगठनका मुद्धाहरु समावेश गरिएका छन,यस अर्थमा नितिगत रुपमा हामीले स्ववियु निर्वाचन जितेका छौ । अनि संख्यात्मक रुपमा पनि त्रिविका ठूला आंगिक क्याम्पसहरुमा हामीले विजय गरेका छौ । केही संगठनहरुले आफ्नो कमजोर अवस्था रहेका क्याम्पसहरुमा निर्वाचन गर्न दिएनन, यदि सम्पूर्ण क्याम्पसहरुमा तोकिएकै मितिमा निर्वाचन भएको भए अहिले बाहिर प्रचार गरिएको कुरा आउने थिएन । तसर्थ हाम्रो संगठनले नेपालको विद्यार्थी राजनीतिमा आफ्नो फरक अर्थ र महत्व बोकेको छ,स्ववियु निर्वाचन हुन नदिइएका अधिकाशं क्याम्पसहरु र देशका सबै क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थीहरुको पहिलो संगठनका रुपमा रहेको छ ।

३) त्रिविका धेरै आंगिक क्याम्पसहरुमा चुनाव हुन सकेन,विद्यार्थी संगठनहरुले किन गर्न नदिएको होलान ?

स्ववियु निर्वाचनको विषयमा हामी सुरुदेखिनै लागि परेका छौ । हाम्रो कारण कहि कतै पनि निर्वाचन रोकिएको छैन,यो गलत प्रचार हो । हामीले त आफ्नो संगठनको प्रभाव भन्दा पनि आफ्नो विचार र नितिलाई लागु गराउन खोजेका थियौ,त्यसमा हामी सफल भएका छौ । तसर्थ हाम्रो कारण निर्वाचन रोकिएको होइन ।  हामीले पटक पटक भनेका छौ, एकाध संगठनहरुले आफ्नो सांगठनीक हैसियत र प्रभावको मुल्याङकन गरेर निर्वाचन रोक्ने कार्य गरे त्यो विद्यार्थीहरुको हक,अधिकारको विपक्षमा छ । त्यो गलत हो । त्यहि कारणले त्रिविका केही क्याम्पसमा र सामुदायिक क्याम्पसमा पनि चुनाब हुन सकेको छैन । आफुले जित्ने क्याम्पसलाई सुरक्षित राखेर हार्ने ठाउँमा ताला लगाइ दिने काम नेविसंघ र अनेरास्ववियुले विभिन्न कयाम्पसहरुमा गरे ।

४) उपत्यकका ठूला क्याम्पसमा क्रान्तिकारीको जित भएको तपाईले बताइरहदा अधिकांश ठूला क्याम्पसहररुमा निर्वाचन हुन सकेको देखिन्न, नि ?

तपाईले भनेको कुरा ठिक हो । उपत्यकका निर्वाचन भएका क्याम्पसहरु मध्यय अधिकाशं ठूला क्याम्पसहरुमा हाम्रो जित भएको छ । तर अझै धेरै क्याम्पसहरुमा निर्वाचन भएको स्थिति भने छैन । केही क्याम्पसमा विद्यार्थी संगठनहरुले आफ्नो हार हुने अवस्था देखेपछि निर्वाचनमा अवरोध गरिराखेका छन । आरआरमा बालकोटको निर्देशनमा निर्वाचन हुन नदिइएको हो भन्ने तथ्य पनि हामीसँग आएको छ । यसरी राजनीतिक दलहरुनै विद्यार्थीको निर्वाचनमा लागेको देखियो । तर हाम्रो पार्टीले कहि पनि त्यसरी हस्तक्षेप गरेको छैन ।
पार्टीगत आस्थाका आधारमा क्याम्पस प्रशासनले निर्वाचन गराउने विषयलाई हामीले स्वीकार गर्न सक्दैनौ । हामी विद्यार्थीको पक्षमा स्वतन्त्र निर्वाचन हुनुपर्छ भन्ने मान्यता राख्दछौ । अवरोध भएका क्याम्पसहरुमा विद्यार्थी संगठनहरुबीच सहमति होस् अनि त्यसको आधारमा निर्वाचनको वातावरण बनोस भन्ने हाम्रो मान्यता रहेको छ ।

५) अखिल क्रान्तिकारीले उपत्यककामा पनि अन्य संगठनसँगको संयुक्त प्यानलबाट निर्वाचनमा गएकाले मात्र जितेको हो,एकल निर्वाचनमा गएको भए अहिलेको स्थिति समेत हुने थिएन,भन्ने खालका प्रतिकृयाहरु पनि आएका छन नी ?

(अलि कडा आवाजमा…) त्यसो भए हामीले एकल रुपमा जितेका ठाउँमा कस्को कारण सम्भव भयो त ? हामी प्रष्ट पार्न चाहन्छौ, अखिल क्रान्तिकारीले पुल्चोक क्याम्पसमा एकल प्यानल लडेको हो, र त्यहाँ विजय हासिल गरेको छ । त्यसैगरि थापाथली क्याम्पसमा पनि हाम्रो एकल प्यानल नै लडेको हो,त्यहाँ पनि हामीले सानदार रुपमा जितेका छौ । हो कतिपय ठाउँमा अन्य संगठनहरुले हामीसँग मिलेर संयुक्त प्यानलमा जाने प्रस्ताव गरेपछि आवश्यकता अनुसार हामी मिलेर गएका पनि थियौ,तर एकल निर्वाचनमा डराएर त्यसो गरिएको भने होइन । जस्तो कि सानोठिमीमा हाम्रो अध्यक्ष र नेविसंघको सचिव हामीले संयुक्त रुपमा निर्वाचन लडेका थियौ र त्यहाँ पनि एउटा ठूलो अन्तर, लगभग २५० मतको अन्तरमा हामीले जितेयौ ।

अखिल क्रान्तिकारी निर्वाचनसँग डराएर कहिल्यै पछि हटेको छैन र हट्दैन पनि । बरु अन्य केही विद्यार्थी संगठनलाई कस्तो लाग्यो भने आफुले हिजोदेखि जितिराखेका क्याम्पसहरुमा अखिल क्रान्तिकारीले जित्छ भन्ने डरले आफैले आफुभित्र तालाबन्दी गरेर चुनाव रोक्ने वातावण सिर्जना गरे । उनीहरु निर्वाचनको डर कति थियो भन्ने कुरा अहिले सम्म निर्वाचन गर्नबाट रोकिएका क्याम्पसको सूचिहेर्दैमा थाहा हुन्छ ।

६) तर तपाईले अहिले निर्वाचनबारे जे,जसरी भनेपनि तपाईहरुले पहिले घोषणा गरे जस्तो परिणाम आएको देखिएन,त्यसको कारणहरु के हुन सक्छन ?

हामीले निर्वाचनमा विद्यार्थी नेता,कार्यकर्ताहरुलाई मात्र परिचालन गरेका थियौ । विद्यार्थीको निर्वाचनमा पार्टीलाई जोडेका छैनौ र त्यसो गरिनु हुदैन भनेका थियौ । तर केही विद्यार्थी संगठनहरुले भने निर्वाचनमा पार्टीको योजना र प्रभावलाई प्रदर्शन गरेको देखियो । जस्तो कि आरआरमा बालकोटको निर्देशनमा निर्वाचन रोकियो,वानेश्वरमा पनि आफ्नो संगठनको कमजोर अवस्था देखिएपछि पार्टी हेटक्वाटरकै निर्देशनमा त्यहाँ निर्वाचन भाँडेको अवस्था प्रष्टै देखिन्छ । भन्नुको अर्थ अहिले निर्वाचन भएका स्थानमा उहाँहरुले आफ्नो जीत निश्चीत देखेर नै अवरोध गर्नु भएन । जहाँ हारको डरले उहाँहरुलाई सतायो त्यहाँ निर्वाचन रोकेर राख्नुभएको छ । त्यसैले देशैभरी रहेका क्याम्पसहरु जहाँ निर्वाचन भएका छैनन त्यहाँको अवस्थालाई पनि मूल्याङन गर्दा अखिल क्रान्तिकारी यो देशको पहिलो नम्बरकै संगठन हो । यसमा कुनै संका रहेको छैन ।
अनि अर्को कुरा नितिगत विषयमा हामीले निर्वाचन अगाडि नै जितेका छौ । अखिल क्रान्तिकारी शैक्षिक आन्दोलनको बीचबाट आएको संगठन हो । हामीले उठाएका मुद्धाहरु २८ बर्षे उमेर हद,समावेशी सिद्धान्तमा आधारीत निर्वाचन प्रणाली लगाएत निर्वाचनका अन्तनिर्हीत पक्षहरुमा हाम्रो संगठनमा मुद्धाहरु लागु भएका छन । त्यो अखिल क्रान्तिकारीको जीत हो ।

७) बाँकी चुनाब नभएका क्याम्पसहरुको विषयमा के हुन्छ ?

बाँकी निर्वाचन हुन नसकेका क्याम्पसहरुको हकमा अब हामी पुर्न छलफलको क्रमलाई निरन्तरता दिन्छौ । मलाई लाग्छ त्रिभुवन विश्व विद्यालयले दिनदिनै नियमित स्ववियु निर्वाचन मात्र गरिरहन्छ भन्ने हुदैँन । केहि दिनपछि परीक्षाको तालिका पनि निस्कने भएकाले अब त्रिविले निर्वाचनको काम गर्दैन र सम्भव पनि देखिदैँन । त्यसका साथै स्थानीय निकायको निर्वाचन आचारसंहिता पनि आइसकेको हुनाले त्यसको आधारमा पनि अर्को निर्वाचन संगसँगै गराउन नपाइने व्यवस्था रहेको छ । तसर्थ यि विविध कारणहरुले गर्दा स्ववियु निर्वाचन हुन सम्भव छैन भन्ने मलाई लाग्दछ ।

८) विद्यार्थी संगठनको सहमतिमा स्ववियुलाई एउटा आकार दिन सकिन्छ कि सकिन्न ? यो विषयमा केही छलफल भएको छ ?

यो एउटा छलफलको विषय हो, तर अहिले सम्म यो विषयमा कुनै निर्णय भएको छैन । यो विषयमा विद्यार्थी संगठनका नेताहरुले कसरी जान सकिन्छ भनेर छलफलबाट अगाडि जान सकिने अवस्था पनि हुन सक्छ । स्थानीय क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले सहमतिमा एउटा टिम बनाएर काम गर्ने वातावरण बनाउन पनि सक्छन । तर यो विषय पनि स्थानीय तहको निर्वाचन पछि नै हुन्छ भन्ने मलाई लाग्दछ ।

९) सिंगो माओवादी पार्टीको विभाजनले पनि अहिलेको स्ववियु निर्वाचनमा अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकिएको होकी ? पार्टी विभाजनले स्थानीय निकायको निर्वाचनमा कस्तो प्रभाव पार्ला ?

माओवादीबाट विभाजित भएरका केहि घटकहरु मिलेर माओवादी केन्द्र बनेको छ । अरुपनि केहि माओवादी घटकहरु छन,हामीले निरन्तर एकताको कुरा गरिरहेका छौ । एकताको आवश्यकता उहाँहरुलाई पनि हुनुपर्दछ । त्यो हामीले मात्र भन्ने कुरा पनि होइन । मलाई त के विश्वास छ भने सिंगो माओवादी आन्दोलन एक हुन्छ,हुनैपर्छ । अहिलेको हाम्रो स्ववियु निर्वाचनको परिणामको संकेत हाम्रो एकता सहितको भावको पनि हो, त्यसले के संकेत गरेकोे छ भने, माओवादी एकताको भाव,राप र ताप बाट हामीमा एउटा उर्जा आइसकेको छ,हामी अझै त्यो उर्जा थप्न चाहन्छौ ।

हामीले विभाजित भएका हाम्रा घटकहरुको स्ववियु निर्वाचनको अवस्थालाई पनि हेरेका छौ,उहाँहरुले पनि त्यो कुराको मूल्याङक गर्नु भएको होला । उहाँहरुलाई माओवादी केन्द्रमा केन्द्रीत भएर अगाडि बढ्नका लागि म आह्वान पनि गर्न चाहन्छु । विकेन्द्रीत भएर तपाईको लक्ष्य,सपना,उद्देश्य पुरा गर्न सक्नुहुन्न भन्ने कुरा पनि म राख्नु चाहन्छु । र यो परिणामले स्थानीय तहको निर्वाचनको तहसम्म पुग्दाखेरी माओवादी कमजोर हुदैंन,माओवादी अझै बलियो शक्तिका रुपमा स्थापित भएर आउछ । स्थानीय निकायको निर्वाचनपछि विभाजित माओवादी सबै एकै ठाउँमा आउनेमा मलाई पुरा विश्वास रहेको छ ।