प्रहरी र अपहरणकारीबीच फायरीङः एक अपहरणकारी घाइते

पेस्तोल र तीन राउन्ड गोली बरामद

काठमाडौं,फागुन २१ । राजधानीको स्वयम्भु नजिकै आज प्रहरी र अपहरणकारीबीच दोहोरो गोली चलेको छ । प्रहरीले योजनाबद्ध तरिकाले आज अपहरणकारीलाई पक्राउ गर्न खोजेकापछि भएको दोहोरो फायरिङका क्रममा केही घाइते भएका छन ।

प्रहरीका अनुसार अपहरणकारीले केही दिनअघि बौद्धबाट नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङलाई अपहरण गरेको र फिरौतीस्वरुप परिवारसँग साढे ६ लाख रुपैयाँ माग गर्दै आएका थिए । आज फिरौती रकम बुझाउने क्रममा उक्त गोली हानाहानको घटना भएको हो ।

अपहरण गरेर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने क्रममा अपहरणकारीले प्रहरीमाथि आक्रमण गरेपछि जवाफि कारवार्हीमा फायर गरेको प्रहरीले हरपल नेपालसँगको कुराकानीमा बताएको छ । प्रहरीको गोलीबाट अभियुक्त दुर्गा तामाङ घाइते भएका छन् भने केही हताहत भएको बताइएको छ ।

प्रहरीले अपहरणमा परेका तीनैजना मुक्त भएको बताएको छ । प्रहरीले घटना स्थलबाट एक पेस्तोल र तीन राउन्ड गोली समेत बरामद गरेकोजनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका अभियुक्त तामाङको अहिले बीर अस्पतालमा उपचार भइरहेको काठमाडौँ महानगरिय प्रहरी प्रमुख छविलाल जोशीले बताएका छन । उनले घटनाको विषयमा सम्पूर्ण विवरण अझै प्राप्त भै नसकेको भन्दै प्रहरीले अपराधमा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी कार्य गरिरहेको जनाएका छन ।